![]()
सर्लाही , असार -१९, जिल्लाको लालबन्दी स्थित थाेक तरकारी बजारमा व्यापारीहरूले आजदेखि अनिश्चितकालका लागि तरकारी किन्न छाडेका छन् ।
नगरपालिकाले ताजा तरकारी निकासीमा लगाउँदै आएको कर हटाउन माग गर्दै ताजा तरकारी फलफूल थोक बजार व्यवसायी संघले दबाब सृजना गर्ने उद्देश्यले तरकारी किन्न छाडी आन्दाेलीत भएका हुन ।

आन्दोलनका क्रममा बजारमा थाेक तरकारीको किनबेच पूर्णरूपमा बन्द गरि आन्दाेलनरत पक्षले लालबन्दी स्थित पूर्वपश्चिम राजमार्गमा झण्डै ३ घण्टा अवरोध गरेका थिए।
झण्डै तीन घण्टा सडक जाम गरेका आन्दाेलनरत व्यवसायी र नगर प्रमुख वासुदेव अधिकारीबीच दिउँसो ३ बजे नगरपालिकामा छलफल गर्ने सहमति भएपछि सडक जाम खुलेको हाे ।

लालबन्दी बजार विशेषगरी टमाटर बाेडी लगायतका तरकारी उत्पादनका लागि चर्चित मानिन्छ। यहाँ उत्पादित ताजा तरकारीहरू राजधानी काठमाडौंदेखि देशका विभिन्न ठूला सहरसम्म पठाइने गरिन्छ। लालबन्दीबाट वर्षेनी अबर बढीको तरकारी निकासी हुँदै आएको छ ।
व्यवसायी संघका अध्यक्ष दरेश चौधरीले बिगत ५ वर्षदेखि नगरपालिकालाई निकासी कर हटाउन आग्रह गर्दै आएको तर सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनको बाटो रोजिएको बताए। उनका अनुसार अन्य नगरपालिकाहरूमा यस्तो कर नलाग्ने भए पनि लालबन्दीमा मात्र जबर्जस्ती कर लादिएकाले किसान र व्यवसायी दुवै अन्यायमा परेको अवस्था छ।
कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमोद थपलियाले आन्दोलनप्रति समर्थन जनाउँदै, निकासी करका कारण बाह्य बजारमा तरकारी महँगो भएर बिक्री नहुनु व्यवसायीका लागि घाटाको कारण बनिरहेको बताए।
बजार बन्द भएसँगै किसानले उत्पादन गरेका तरकारी खेतमै कुहिने खतरा बढेको छ। यसको प्रत्यक्ष असर किसानहरूमा पर्न गइरहेको भन्दै आन्दोलनकारी व्यवसायीहरूले यसको जिम्मेवारी नगरपालिकाले लिनुपर्ने बताएका छन्।









