राजविराज,असार—१३, सप्तरीको राजगढ गाउँपालिका–४ प्रिपाहीमा एक युवाको घाँटी रेटी हत्या भएको छ।निमित्त प्रहरी प्रमुख डिएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार डाक्नेश्वरी नगरपालिका–८ का ३२ वर्षीय राजकुमार खंगको बिहीवार बिहान ८ बजे शव फेला परेको हो।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली घटनास्थल पुगेको थियो ।

मृतकको पहिचान गरी थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित टोली खटिएको छ। लगातार यस्ता घटनामा अपराधी पक्राउ नपर्दा सर्वसाधारण त्रसित भएका छन्।
घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ।