सर्लाही,असार ८ –मधेश सरकारका प्रवक्ता तथा गृह, संचार र कानून मन्त्री राजकुमार लेखीले संचारमाध्यमहरू सत्य, निष्पक्ष र यथार्थपरक सूचनाको पक्षमा उभिनु पर्नेमा जोड दिएका छन्।उनलेे तीनै तहका सरकारका कमी कमजोरी उजागर गर्न मिडिया सक्षम भएमा सुशासन कायम हुने बताएका ।
जिल्लामाको लालबन्दीमा चलचित्र तथा लोकसंचार प्रवर्द्धन बाेर्ड मधेश प्रदेशले आयोजना गरेको सात दिने ‘छायांकन तथा दृश्य सम्पादन सम्बन्धी प्रशिक्षण’को उद्घाटन गर्दै मन्त्री लेखीले यस्तो बताएका हुन ।


उनले प्रदेश सरकारसँग कर्मचारीको अभाव रहेको उल्लेख गर्दै यसले सेवा प्रवाहमा चुनौती सिर्जना गरेको बताए । मन्त्री लेखीका अनुसार सञ्चारकर्मी र सञ्चारमाध्यमको हितका लागि आगामी बजेटमा विभिन्न कार्यक्रम समावेश गरिएको छ।
लोक कल्याणकारी विज्ञापन विस्तार,आठवटै जिल्लामा नेपाल पत्रकार महासंघको कार्यालय व्यवस्थापनका लागि १० लाख रुपैयाँ सहयोग,महासंघमा आवद्ध पत्रकारहरूको जीवन बीमा, अग्रज तथा उत्कृष्ट पत्रकारको सम्मान लगायतका कार्यक्रम समावेश गरिएको उनलेे बताए ।


साथै, प्रदेश सरकारले आफ्नै रेडियो, टेलिभिजन, अनलाइन र समाचार समिति सञ्चालन गर्ने योजना पनि अघि सारेको उनले बताए ।
कार्यक्रमको अध्यक्षता चलचित्र तथा लोक सञ्चार प्रवर्द्धन बोर्ड जनकपुरधामका अध्यक्ष किशोरकुमार लेखीले गरेका थिए।

कार्यक्रममा बोर्ड सदस्य रामस्वागत चौधरी, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, आम सञ्चार प्राधिकरण मधेश प्रदेशका प्रमुख प्रशन्नराज कर्ण, प्रेस काउन्सिल सदस्य बन्धना झा, तथा आदिवासी जनजाति अगुवा अमिरी चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए।