काठमाडौँ, असार -४, देशका विभिन्न भागमा मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भागहरू तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव देखिएको  छ।साथै, देशको पश्चिमी भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहनुका साथै भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव परेको छ।


महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थान तथा अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, ती प्रदेशहरूका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ।


देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षा र हिमपात हुने सम्भावना पनि रहेको छ।
आज रातिसमेत देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि अधिक  वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा र अन्य प्रदेशका केही उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा समेत हल्का वर्षासँगै हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।