![]()
असार -४ ,आज जुन १८ तारिख, विश्वभर ‘अन्तरराष्ट्रिय दिगो ग्यास्ट्रोनोमी दिवस’ मनाइँदैछ। ग्यास्ट्रोनोमी भन्नाले खाना पकाउने कला तथा कुनै क्षेत्र विशेषको परिकार संस्कृतिलाई जनाइन्छ।

दिगो ग्यास्ट्रोनोमीको अर्थ केवल स्वाद वा प्रस्तुतीकरणमा सीमित नरही, खाद्य सामग्रीको स्रोत, उत्पादन प्रक्रिया, आपूर्ति श्रृङ्खला र त्यसको वातावरणीय प्रभावलाई समेत समेट्ने अवधारणासँग सम्बन्धित छ।
संयुक्त राष्ट्रसंघ महासभाले सन् २०१६ मा जुन १८ लाई अन्तरराष्ट्रिय दिगो ग्यास्ट्रोनोमी दिवसका रूपमा घोषणा गरेको हो। यस दिवसको उद्देश्य स्थानीय उत्पादन, मौसमी सामग्री र सांस्कृतिक खानपान परम्पराको संरक्षण गर्नुका साथै वातावरणमैत्री र दीगो कृषि तथा खाद्य प्रणालीको प्रवर्धन गर्नु हो।

संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) र खाद्य तथा कृषि संगठन (एफएओ) ले संयुक्त रूपमा यस दिवसको अवसरमा विश्वव्यापी कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।

युनेस्कोले हालसम्म ५६ वटा शहरलाई ‘क्रियटिभ सिटिज अफ ग्यास्ट्रोनोमी’ का रूपमा मान्यता दिइसकेको छ, जसले स्थानीय खाना संस्कृति र दिगोपनाको प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याइरहेका छन्।









