![]()
सर्लाही,जेठ -७, नेपाली कांग्रेसका नेता हरिनन्दनराय यादवमाथि बुधवार अपरान्ह आक्रमण भएको छ।
प्रहरीका अनुसार सदरमुकाम मलंगवाबाट घर रहेको स्थान रामनगर गाउँपालिका तर्फ फर्कने क्रममा गाेडैता नगरपालिका वडा नम्बर -८ माेहनचाैक नजिक उनीमाथि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

यादव सवार गाडीलाई दुईवटा गाडीले पछ्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भएपनि यादवमाथि गोली प्रहार भएको नभएको भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले चियाेचर्चाे खबरलाई जानकारी दिए । उनले गाडीमा सवार यादव र चालक घाइते भएको जानकारी दिए।

यादवले गत स्थानीय तह निर्वाचनमा रामनगर गाउँपालिकाको अध्यक्षकाे प्रत्याशी थिए । उनले आफूमाथि गोली प्रहार भएको दाबी गरेका छन्। उनले आफुलाई तीनवटा गाडी दुई तीन किलोमिटर परबाट पिछा गरिरहेको र सुनसान ठाउँमा पुगेपछि अगाडिबाट गाडीले घेरेर लाठीभाराटाले हानेर गाडीको सिसा फुटाइदियो र दुई जनाले पेस्तोलले गोली प्रहार गरेको दाबी गरे।माओवादी नेता शिवपुजन यादवका आफन्तहरूले आफूमाथि आक्रमण गरेको उनको आराेप छ । घट्ना पछि स्थानीय कांग्रेस नेता कार्यकर्ताले टायर बालेर प्रदर्शन गरेका छन् ।

घटनाको विरोधमा नेपाली कांग्रेस मधेश प्रदेश उपसभापति एवम् प्रदेश संसदीय दलका उप नेता वीरेन्द्रप्रसाद सिंहले घटनामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउन सरकारसँग माग गरेका छन्।









