पर्सा,चैत -३१,  हनुमान जयन्तीको शोभायात्राका क्रममा हिजो वीरगञ्जमा भएको दुई फरक समुदाय बीचको  झडप र विवाद साम्य पार्न जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकमा पाँचबुँदे सहमति भएको छ।


आइतवार (आज) दिनभर चलेको  प्रशासन, राजनीतिक दल, धार्मिक प्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायका प्रतिनिधिहरूबीचकाे छलफल र वार्तापछि  सहमति जुटेको हो। बैठकमा हनुमान जयन्तीको शोभायात्रामा भएको घटनामा संलग्न दोषीहरूको पहिचान गरी कानूनी प्रक्रियानुसार आवश्यक कारबाही गर्ने, सद्भाव र सहिष्णुता कायम गर्ने, आपसी धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्ने  सहमति जुटेको हाे ।


बैठकमा घटनाको अनुसन्धान तथा कानूनी प्रक्रियामा पूर्ण सहयोग पुर्‍याउने सहमति  भएको छ। घाइतेको उपचार र क्षतिपूर्ति, घटनामा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचार गर्ने निर्णय भएको छ ।
घटनाबाट भएको भौतिक क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले आवश्यक पहल गर्ने निर्णय गरेको छ। धार्मिक, सांस्कृतिक र जातीय कुनै पनि कार्यक्रममा हतियार प्रदर्शन निषेध गरिएको छ। यदि यस्तो कार्य गरेको पाइएमा दोषीलाई कानुन बमोजिम कार्वाही गर्ने सहमति भएको छ ।


पर्सा जिल्लामा सञ्चालित सम्पूर्ण धार्मिक संस्था र तिनीहरूले चलाएका विद्यालय, मदरसा लगायतका संस्थाहरूको सूक्ष्म अनुगमन गरिने त्यसमा कुनै अनियमितता भेटिएमा आवश्यक कार्वाही  अगाडि बढाउने बैठककाे निर्णय रहेको छ ।


सर्वपक्षीय बैठकका सहभागीले वीरगञ्जमा शान्ति र सद्भावको वातावरण निर्माण गर्न आ-आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जिल्ला प्रशासन कार्यालय पर्साले शनिवार बेलुकीदेखि वीरगञ्जमा जारी गरेको  कर्फ्यू आदेश भने आइतवार राति १२ बजेसम्म निरन्तर दिएको छ। राति १२ बजेपछि भने कर्फ्यू हटाएर केही  क्षेत्रहरूमा निषेधाज्ञा जारी गर्ने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।