सर्लाही,फागुन -९, जिल्लाकाे लालबन्दी उद्योग वाणिज्य संघले फागुन २३ गतेदेखि चैत ४ गतेसम्म दोस्रो लालबन्दी महोत्सव आयोजना गर्ने भएको छ ।


लालबन्दी- ९ बस्तीपुरमा रहेको भुदेव खाद्य उद्योग परिसरमा महोत्सव आयोजना गर्न लागिएको आयोजक उद्योग वाणिज्य संघ लालबन्दीले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
´आर्थिक समृद्धि र स्वरोजगारको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार´ भन्ने मूल नारा रहेको महोत्सवकाे १ लाख दर्शकले अवलोकन गर्ने आयाेजककाे आकलन रहेको छ ।


१० दिनसम्म आयोजना हुने महोत्सवका लागि ७२ लाख रुपैयाँ खर्च हने आयोजकको अनुमान छ ।
खर्चको व्यवस्थापनकाे लागि लालबन्दी नगरपालिकाबाट ९ लाख टिकट बिक्रीबाट २५ लाख, स्टल भाडाबाट १६ लाख,मुख्य प्रायोजकबाट ६ लाख र अन्य क्षेत्रबाट समेत गरि स्राेत व्यवस्था गरिने लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र बलम्पाकीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
अध्यक्ष बलम्पाकीका अनुसार महोत्सवमा विभिन्न जातजातिका परिकार, भेषभूषा, कृषिजन्य उत्पादनलगायत १५० वटा व्यापारिक स्टलहरु रहने छन् । कृषिका स्टललाई नि शुल्क गरिएपनि अन्य संग शुल्क लिइने छ । महोत्सवमा दशै दिन राष्ट्रिय स्तरका छुट्टाछुट्टै कलाकारहरुले सांगीतक प्रस्तुति दिनेछन् ।


यश वर्ष देखि महोत्सवमा मधेश प्रदेश स्तरीय गायन तथा नृत्य प्रतियोगिता समेत राखिएको उद्योग वाणिाज्य संघ लालबन्दीका महासचिव रामप्रसाद देवकोटाले जानकारी दिए ।उनका अनुसार गायन र नृत्यलाई प्रतियाेगितात्मक बनाइएको छ। प्रतियोगितामा प्रथम हुनेलाई १-१ लाख नगद पुरस्कार प्रदान गरिनेछ ।
महोत्सव स्थालमा सर्वसाधारण प्रवेशका लागि ८० रुपैयाँ, विद्यार्थी र शारीरिक अपाङ्गता भएकाहरुका लागि ५० रुपैयाँ टिकटदर राखिएको आयोजकले जनाएको छ । अवस्था हेरेर अपाङ्गता भएकाहरुका लागि नि शुल्क गरिने अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले जानकारी दिए ।


कठिन अवस्थामा गुज्रिरहेको बजारलाई चलायमान बनाउने मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गर्न लागिएको बताए उनलेे बताए । महोत्सवबाट लालबन्दी नगरको ख्याति वृद्धिमा मद्दत पुग्ने आयाेजककाे अपेक्षा छ ।