ठाकुरप्रसाद बख्रेल/कालिन्जाेर

फागुन- ७, जनता आधारभूत विद्यालय, ईश्वरपुर-१२, पिपलदमार मा अध्ययनरत १३० भन्दा बढी विद्यार्थीलाई स्टेशनरी र विद्यालय झोला वितरण गरिएको छ।
नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर-१ को आयोजनामा तथा मधेस प्रदेश कार्यसम्पादन समिति सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख शर्मिला थापाको विशेष सहयोगमा स्टेशनरी र विद्यालय झोला वितरण गरिएको हाे ।


राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नम्बर-१ का सभापति हरिबहादुर लुङेली को अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति लक्ष्मण राय प्रमुख अतिथि रहेका थिए, भने मधेस प्रदेश सदस्य शर्मिला थापा महासमिति सदस्य प्रमोद बराल, योगराज देवकोटाकाे विशिष्ट आतिथ्यता रहेकाे थियो ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि जुना परियार, पूर्व वडा अध्यक्ष नागेन्द्र पाखरिन, वार्ड उपसभापति मिलन के.सी., वार्ड सचिव चन्द्र कार्की, तरुण दल वार्ड सभापति उमेश रास्कोटी लगायतको उपस्थिति रहेको थियो।


कार्यक्रममा प्रमुख अतिथि लक्ष्मण रायले प्रजातान्त्रिक व्यवस्थाले समाजका सबै वर्गलाई अवसर प्रदान गर्ने उल्लेख गर्दै विद्यार्थीहरूलाई शिक्षाको महत्व बुझ्न आग्रह गरे।
विशिष्ट अतिथि शर्मिला थापाले शिक्षाका लागि आवश्यक स्रोत-साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता सहयोगात्मक कार्यहरूलाई निरन्तरता दिने बताइन्।
कार्यक्रमका सभापति हरिबहादुर लुङे्गलीले नेपाली कांग्रेसको तर्फबाट विद्यार्थीहरूलाई आवश्यक सामग्री उपलब्ध गराउने कार्यले शिक्षामा सकारात्मक प्रभाव पार्ने बताए।


विद्यालयका विद्यार्थीहरूले प्राप्त स्टेशनरी र झोलाले आफ्नो पढाइमा थप सहजता ल्याउने प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको उत्साह बढाउने र शिक्षाप्रति झनै प्रेरित गराउने बताए।