सर्लाही/ कृष्ण थपलिया
पुस–२०,उप–प्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार दिगो विकास र स्थायित्वको लागि बनेको बताएका छन् ।
जिल्लाको हरिपुर नगरपालिकामा सहरी बिकास मन्त्रालयद्वारा निर्मित व्यवसायिक भवनको शनिवार (आज) उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री सिंहले जनताका आवश्यकता र आकांक्षा वर्तमान सरकारलेनै पूरा गर्ने बताउँदै तीनै तहको सरकार मिलेर काम गर्नु पर्ने बताए ।


उनले भने, ‘यो सरकार दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेसहित अन्य दल समेत मिलेर बनेकोले यही सरकारले विकास निर्माणको कामलाई दिगो ढंगले अघि बढाइरहेको छ ।’ उनले यो सरकार बन्नु अघि नै बजेट निर्माण भइसकेकाले कतिपय स्थानीय तहका मागलाई सम्बोधन गर्न कठिनाई भइरहेको बताए ।

उनले भने,‘हामी प्रसायरत छौं, नभय आगामी बजेटमा भएपनि स्थानीय तहहरुबाट आउने मागहरुलाई सम्बोधन गछौं ।’
उनले हरिपुर नगरपालिकाको आर्थिक समृद्धिमा नवनिर्मित भवन महत्वपूर्ण हुने बताउँदै नवनिर्मित भवनको सञ्चालन, व्यवस्थापन र संरक्षणमा नगरपालिकाले ध्यान दिनु पर्नेमा जोड दिए । जुन प्रयोजनको लागि भवन निर्माण भएको हो सोही प्रयोजनको लागि काम गरेर नगरको आर्थिक उन्नतिमा काम गर्न आग्रह गर्दै बैंक, बित्तीय संस्था, साना व्यवसायीका लागि भवन उपयोगी हुने उनले विश्वास व्यक्त गरे ।

भवन बनाउँदा निर्माण व्यवसायीहरुबाट ढिलासुस्ती हुने गरेकोमा हरिपुर नगरपालिकाको यो व्यवसायिक भवन समयमै निर्माण सम्पन्न गरेको भन्दै निर्माण व्यवसायीहरु समेत धन्यवादको पात्र भएको बताए ।
निर्माण व्यवसायी कम्पनी श्री बज्रगुरु/एक्सिस एसिएम जेभी जनकपुरले सो व्यवसायिक भवन र हजारविघा चोकदेखि हरियाली माईस्थानसम्मको ३.५ किलोमिटर अस्फाल्ट बाटो(कालोपत्रे) निर्माण गर्न २०८१ साउन २५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का दिइएकोमा निर्माण कम्पनीले एक महिना अगावै अर्थात २०८१ असार २० गते नै निर्माण सम्पन्न गरेको थियो ।
सो भवन र कालोपत्रे गरी कुल १३ करोड ३८ लाख ३२ हजार ४ सय चौरासी रुपैयाँ ३२ पैसामा निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको हरिपुर नगरपालिकाले जनाएको छ ।
नवनिर्मित व्यवसायीक भवनको भुईँतल्लामा १४ ओटा व्यापारिक सटर र महिला पुरुष र अपाङ्गमैत्री शौचालय, पहिलो तल्लमा १४ओटा व्यापारिक सटरसहित महिलापुरुष शौचालय र माथिल्लो तल्लामा ४ ओटा च्याम्बरसहित महिला पुरुष शौचालय गरी तीन तल्ले भवन ईलेक्ट्रीकल सेनेटरी स्टलेशनसहित सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको छ ।


खुद्रा व्यापारका लागि पसलहरु र डिपार्टमेन्ट स्टोर सञ्चालन गर्ने, थोक व्यापारका लागि गोदाम र थोक विक्रेता स्टलहरुको व्यवस्थापन, सेवा व्यवसाय अन्तरगत वित्तिय संस्थाहरु वीमा कम्पनीहरु र अन्य सेवाका कार्यालयहरुलाई भवन भाडा लगाउने, खाद्य तथा पेय व्यवसायका लागि रेष्टुरेण्ट, क्याँफे र फुडकोर्टहरु सञ्चालन गर्ने नवनिर्मित वहुउदेश्यीय व्यवसायिक भवनको उदेश्य रहेको हरिपुर नगरपालिकाका मेयर गोपाल पंंजियारले जानकारी दिए ।
भवनको उद्घाटन कार्यक्रममा नगर प्रमुख पंजियारले लखनदेही नदीमा पुल निर्माणसहित विभिन्न परियोजनाहरुको निर्माणका लागि सहयोग गरिदिन मन्त्री सिंहसँग आग्रह गर्दै योजनाको फाईल हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय, पूर्वमन्त्री एवम् नेपाली काँग्रेस मधेश प्रदेश उपसभापति वीरेन्द्र प्रसाद सिंंह, संविधानसभा सदस्यद्व रामचन्द्र चौधरी र शम्भुलाल श्रेष्ठ, मधेश प्रदेशसभा सदस्य जंगीलाल राय, जिसस सभापति कौशलकिशोर सिंह, काँग्रेस सर्लाहीका पूर्व सभापति लक्ष्मण राय, वर्तमान उपसभापति नविन अधिकारी, डाक्टर सराेज कुमार काँग्रेस नेता विनोद खनाल र विभिन्न पालिकाका प्रमुख तथा स्थानीयको उपस्थिति रहेको थियो ।