काठमाण्डौ,पुष-१५,नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत् आयोजना नेपाली नागरिकको लगानीमा बनाउने तयारी रहेको बताएका छन् ।
उनले विश्व बैंक र एशियाली विकास बैक (एडीबी) बाट वित्तीय व्यवस्थापन नभए नेपाली नागरिकको लगानीमा बनाउने तयारी आफूहरू रहेको बताएका हुन ।
उनलेे माथिल्लो अरुण जलविद्युत् आयोजना विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट असारभित्रमा वित्तीय व्यवस्थापन गर्नेगरी प्रक्रिया अगाडि बढिरहेको बताए । असारभित्र पनि वित्तीय व्यवस्थापन हुन नसके स्वदेशी बैंक तथा वित्तीय संस्था र नेपाली नागरिकको लगानीमा माथिल्लो तामाकोशीको मोडलमा निर्माण गर्ने योजना रहेको कार्यकारी निर्देशक घिसिङकाे भनाइ छ ।
घिसिङले प्राधिकरणले माथिल्लो अरुण जलविद्युत् आयोजनालाई नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका पालिका, आयोजना प्रभावित जिल्लावासी, सर्वसाधारणको शेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलितपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी मिश्रित लगानी (ब्लेन्डेड फाइनान्सिङ) को नमूना परियोजनाका रूपमा अगाडि बढाउन खोजिरहेको बताए ।
एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुणका लागि जग्गा अधिग्रहणलगायतको काम सकेर निर्माण कार्य शुरू भएको छ । आयोजना निर्माणका लागि ५३ अर्ब रुपैयाँको सम्झौता भएको निर्देशक घिसिङले जानकारी दिए ।