जनकपुरधाम, कार्तिक- ८, सूचनाको हकको लागि राष्ट्रिय महासंघ मधेश प्रदेशको दोश्रो महाधिवेशन विहिवार जनकपुरमा सम्पन्न भएको छ ।


महाधिवेशनले अजय कुमार साहको अध्यक्षतामा नयाँ प्रदेश कार्यसमिति चयन गरेको हाे । अध्यक्ष साहकै अध्यक्षता तथा महासंघका केन्द्रीय अध्यक्ष उमीद बागचन्दको प्रमुख आतिथ्यतामा उद्घाटन सत्रपश्चात भएको बन्द सत्रले अध्यक्षमा धनुषाका साहसहित १५ सदस्यीय नयाँ प्रदेश कार्यसमिति चयन गरेको छ ।


महासंघका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश अध्यक्ष गुलाव चौधरी संयोजक रहेको निर्वाचन समितिले निर्वाचन गराएको थियो । नव निर्वाचित समितिको उपाध्यक्षद्वयमा खुल्लातर्फ महोत्तरीका राकेश प्रसाद चौधरी, महिलातर्फ सिरहाका पार्वती सुब्बा, महासचिवमा सर्लाहीका कृष्णप्रसाद थपलिया र कोषाध्यक्षमा धनुषाकै अनिता कुमारी यादव सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै समितिको खुल्ला सचिवमा सिरहाका दिलिप कुमार सहनी, महिला सचिवमा महोत्तरीकी आरती बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् भने सदस्यहरुमा सप्तरीका अनिल पोखरेल, रौतहटका किरण पासवान, सिरहाका निर्मला कुमारी दाहाल, बद्रीनारायण यादव, पर्साका मनोज कुमार महतो, महोत्तरीका विशाल बस्नेत, धनुषाका दिवेश कुमार महतो र बाराका संदीप प्रसाद यादव चयन भएका छन् ।


त्यस्तै महाधिवेशनले आठओटै जिल्लाहरुमा महासंघको शाखा विस्तार गर्न जिल्ला अधिवेशन सम्पन्न गर्न आठओटै जिल्लाको लागि संयोजक र सचिव गरी दुई दुई जनालाई तोकेको छ ।
महाधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथी केन्द्रीय अध्यक्ष बागचन्दले सूचनाको हक हरेक नागरीकको हक भएकोले सबै नागरीकलाई सूचनाको हकको उपयोग गर्न सक्षम बनाउनु महासंघको कर्तव्य रहेकोले सोही उदेश्य अनुरुप महासंघले सबै प्रदेश र जिल्ला तथा पालिकाहरुमा समेत शाखा उपशाखा विस्तार गरिरहेको बताए ।


उनले संविधानले नै ग्यारेण्टी गरेको सूचनाको हक कार्यान्वयनमा आउन/ल्याउन सके देशमा भ्रष्टाचार, अनियमितता, व्यतिथीको अन्त्य हुने र देश समृद्धिको यात्रामा अघि बढ्ने बताए ।
उनले महासंघको नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सन्तोष पाण्डेले स्वागत मन्तव्य रोखका थिए ।