सर्लाही,असाेज-१३,मकवानपुर पहिरोमा परी मृत्यु भएका अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका ६ खेलाडी मध्ये लालबन्दी- १७ , रानीगञ्जका १३ वार्षिय आदित्य बलम्पाकी रहेको पुष्टि भएको छ।
मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार मृत्यु हुनेमा तीनजना जिल्लाकै छन् । हेटौंडा उपमहानगरपालिका–१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जन र सिस्नेरी टेकरका दिवस बानियाँ हुन् ।
सर्लाहीका आदित्य बलम्पाखी, काठमाडौंका प्रियान्स आचार्य र निजगढका विकल रेग्मीको शव घटनास्थलमै भेटिएको प्रहरी उपरीक्षक सीताराम रिजालले पुष्टि गरे ।उनीहरूको शव काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको छ।
इन्द्रसरोवर गाउँपालिका–३, वत्सलादेवी माविमा एन्फाले राखेको यू–१४ क्याम्पका ४० खेलाडीमध्ये ६ जना पहिरोमा बेपत्ता भएका थिए ।
करिब ५ घण्टा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्दा ६ जनाको शव पहिरोले पुरिएको अवस्थामा भेटिएको थियो।
एन्फाले नेपाली सेनासँग समन्वय गरी हेलिकोप्टरमार्फत् शव र ३० खेलाडीलाई काठमाडौं लगेको छ । चार खेलाडी स्थानीय भएका कारण सिस्नेरीमै छोडिएको प्रहरीले जनाएको छ । शवलाई हेटौंडा ल्याउने कोसिस गरे पनि बाटो अवरुद्ध रहेका कारण असम्भव भएपछि एन्फाले सेनाको हेलिकोप्टरमार्फत् शव र खेलाडीलाई काठमाडौं लगेको हो ।
अविरल वर्षासँगै करिब ३१ वर्षपछि कुलेखानी जलविद्युत् आयोजनाको बाँध भरिएपछि बाँधको ढोका खोल्दा सिस्नेरी खोलाको जलसतह बढेको थियो ।
खोलाको सतह बढेसँगै खेलाडीलाई सुरक्षित स्थानतर्फ सार्नेक्रममा दुर्घटना भएको एन्फा केन्द्रीय सदस्य टीकाराम लामाले जानकारी दिए । उनलेे पहिरोमा परेका खेलाडीले छोटो बाटोबाट सुरक्षित स्थानतर्फ जाँदा पुरिएको भन्ने जानकारी पाएकाे बताए ।
बाढी र पहिरोका कारण करिब ४ किलोमिटरको बाटो हिडेरै पहिरोमा वेपत्ता भएका खेलाडीको खोजी गरेको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए ।
एन्फाले वैशाख महिनाबाट सिस्नेरीको टेकरमा होस्टल र आवासीय सुविधासहित एकेडेमी सञ्चालन गरेको थियो ।
लालबन्दी-१७ रानीगन्जका आदित्य लालबन्दीबाट जिल्ला र प्रदेशको छनौट हुदै, एकेडेमीमा पुग्न सफल भएका थिए ।