सर्लाही,असाेज-११, देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि केही ठाउँमा भने ठूलो पानी परेको छ । भोलि बेलुकासम्म नै लगातार पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतवार दिउँसो या बेलुकीदेखि मौसममा क्रमिक सुधार आउने छ । गएरातिदेखि नै ठूलो पानी परेका ठाउँमा रहेका खोला र नदीहरुमा बाढी आएको छ ।


नारायणी, कन्काई, कमला, बागमती, राप्ती, बबई लगायतका नदीहरुमा आज र भोलि बाढीको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पर्सि आइतवारसम्म नै ठूलो पानी पर्ने सम्भावना भएकाले आज र भोलि पहाडी र हिमाली क्षेत्रमा रात्रिबस नचलाउन सरकारले आग्रह गरेको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमाण्ड पोष्टको बैठकले पर्सि आइतबारसम्म ५६ वटा जिल्लामा ठूलो पानी पर्ने भएकाले पहाडी र हिमाली जिल्लामा रात्रिबस नचलाउन आग्रह गरेको हो ।


यस्तै धान नकाट्न, अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न, पहिरोको जोखिम भएका ठाउँमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन, दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान पनि आग्रह गरेको छ ।


बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण पर्सि आइतवारसम्म मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।