सर्लाही,असाेज-३, संविधान दिवसकाे अवसरमा जिल्ला सदरमुकाम मलंगवामा (आज) बिहिवार विविध कार्यक्रम गरिएको छ ।
दिवसकाे अवसरमा प्रभातफेरी, शहिदहरु प्रति पुष्प एवम् माला अर्पण, झण्डोतोलन, रक्तदान, प्रादेशिक अस्पताल मलंगवामा रहेका विरामीलाई फलफुल वितरण लगायतका कार्यक्रम गरिएको संविधान दिवस आयोजक मुल समारोह समितिले जनाएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, उपप्रमुख जितेन्द्र कुशवाहा, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख, जनप्रतिनिधि, नागरिक समाज, कर्मचारी, मलंगवाका स्थानीयवासी लगायतकाे सहभागिता रहेको थियो ।
दिवसकै अवसरमा जिल्लाका २० वटै पालिकासहित सरकारी कार्यालयहरुमा झण्डोत्तोलन गरिएको छ । पालिकाहरुको साँझ दिप दीप प्रज्वलनकाे तयारी गरेका छन्।
दिवसकै अवसर पारेर सदरमुकाम मलंगवामा रहेको प्रादेशिक अस्पताल ब्लड बैक संचालनमा ल्याइएको छ।
मधेश प्रदेश सरकारको सहयोगमा अतिआधुनिक सुविधा सम्पन्न ब्लड बैक संचालनमा आएको अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशार झाले बताए ।
संविधान दिवस आयोजक मुल समारोह समितिले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाउने निर्णय गरेको थियो । पूर्वनिर्धारित कार्यक्रम अनुसार हिजो बुधवार सदरमुकाम समेत रहेको मलंगवा बजार सरसफाइ गरिएको थियोे ।
दिवसकै अवसरमा नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर १ ले बिहिवार आज ईश्वरपुर -८ रामपुरमा एक दिने नि:शुल्क स्वास्थ्य परिक्षण शिविर आयोजना गरेको छ । रामपुर स्थित आधारभूत विद्यालय बिहान -८ बजे देखि शिविर सुरू भएको नेपाली कांग्रेस ले जनाएको छ ।
शिविरमा मुटु,फोक्सो,टाउको तथा नशा,मिर्गौला ,जनरल मेडिसिन, जनरल सर्जरी स्त्रीरोग,हाडजोर्नी तथा नशा,नाक,कान,घाँटी,छाला,दाँत,आँखा सम्बन्धि रोगहरुको जाँच गर्नुका साथै इसिजि,ईको,अल्ट्रासाउन्ड र ल्याब परिक्षण समेत नि:शुल्क गरिएने क्षेत्रीय सभापति हरि लुंगेलीले जानकारी दिए ।
यता संविधान दिवसकै अवसरमै लायन्स कल्ब अफ लालबन्दी सेन्चुरीले पनि रक्तदान कार्यक्रमकाे आयोजना गरेको छ । कार्यक्रम दर्जनौं नागरिकले रक्तदान गरेका आयाेजक कल्वले जनाएको छ ।