
राजु तामाङ/ सर्लाही
भदौ -२१,डम्फुला तालरी तामाङ ह्वाइ जाम्बुलिङरी छार्ना लाई भन्ने नारा सहित तामाङ ह्वाइ काइ पुस्तकको विमोचन गरिने भएको छ ।
सर्लाही हरिवन नगरपालिका घुर्कौली निवासी गायक तथा संगीतकार शुभ लाल घलानद्वारा लेखित दोस्रो पुस्तकको शनिवार (भोलि) काठमाडौंको राष्ट्रिय नाचघर जमलमा दिउँसो १ बजे पुस्तक विमोचन गरिने भएको हो ।
गायक तथा संगीतकार घलानद्वारा लेखिएको याे दोस्रो पुस्तक हो । यस अघि घलानले सेलो राग नामक पुस्तकको प्रकाशन गरिसकेका छन ।

पुस्तक विमोचन कार्यक्रममा तामाङ मौलिक गीतसंगीतको सांगीतिक कार्यक्रम पनि गरिने भएको छ । विभिन्न भेगका तामाङ मौलिक भाकाहरुलाई एक ठाउँमा जम्मा गरी लय र भाकाको सिर्जना गरि त्यसलाई लिपीबद्ध गर्दै तामाङ मौलिक बाजा डम्फु बजाउने तरिका र डम्फुको ताल सिकाउने उद्देश्यले पुस्तक तयार पारिएको हो ।
कार्यक्रममा तामाङ मौलिक बाजाहरु डम्फु, टुङ्ना, बाँसुरीका साथै ढ्याङरो (ङ्हा) र घण्टी (स्याङ) बजाउने प्रस्तुति पनि रहेको आयोजकले जनाएको छ ।

तामाङ मौलिक गीत संगीतको माध्यमबाट तामाङ भाषा, भेषभुषा, संस्कार संस्कृतिलाई जगेर्ना गर्दै एकरुपता ल्याउने उद्देश्यका साथ पुस्तक लेखिएको लेखक घलानले जानकारी दिएका छन् ।
हरिवन नगरपालिका सर्लाहीका उप-प्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यता र वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङ विशिष्ट अतिथि रहने कार्यक्रमको अन्तिम तयारी सकिसकेको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा शुभ तामाङ लगायत गायक तथा टुङ्ना बादक छेवाङ तेन्जिङ लामा, गायिकाहरु सुमिना लो, लक्ष्मी स्याङ्तान, रेश्मा बोम्जन, पारु लामा, डम्फु बादक राजु थिङ र एन्जल घलान, बाँसुरी बादक चन्द्र लामा र टुङ्ना बादक राम गोम्जाको प्रस्तुति रहने छ ।

शुभ संगीत पाठशाला प्रा.लि.ले आयोजना गरेको कार्यक्रमलाई हरिवन नगरपालिकाले सहकार्य गरेको छ । देशविदेशबाट पनि विभिन्न सहयोगीदाताहरुबाट कार्यक्रमलाई सहयोग प्राप्त भएको आयाेजकले जनाएको छ ।
उक्त कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउन सम्पूर्ण गीतसंगीत प्रेमी दर्शक स्रोतालाई उपस्थितिको लागि आयोजकले आग्रह गरेको छ।









