सर्लाही,जेठ -२३, जिल्लाकाे लालबन्दी नगरपालिका वडा नम्बर -१५ चिसापानीमा पिपिआर रोगसँग मिल्दोजुल्दो लक्षण भएको रोगका कारण धमाधम बाख्रा मर्न थालेका छन् ।

केही दिनअघि देखि गाउँमा फैलिएको रोगले अहिलेसम्म ६०/७० वटा खसी बाख्रा मरेको स्थानीय किसानको भनाइ छ । रोगबाट स्थानीय सावित्रा थापा , कमला थामी ,गणेश थामी, मैतली थामी , मैया थामी लगायतका किसानको बाख्रा, बोका खसी मरेको हो।
बिरामी बाख्राको सुरुमा मुखबाट गनाउने र्याल आउने ,ज्वरो आउने, मुख गिजामा फोका आउने ,शरीर काम्ने र अन्तिममा पेट सुनिए बिरामी बाख्रा खसी मर्ने गरेको स्थानीय सावित्रा थापाले बताइन् ।

रोगबाट गाउँमा १५० भन्दा बढी बाख्रा बिरामी भएको छ। पिपिआर रोगकै कारण खसी बाख्रा मरेको स्थानीयले दावी गरेपनि पशु प्रविधिकले निमोनियाको कारण बाख्रा मरेको बताएका छन् ।
रोग प्रभावित क्षेत्रमा पुगेका लालबन्दी नगरपालिका अन्तर्गत पशु प्रविधि शाखाका प्रमुख सुरेश भारतीले गम्भीर प्रकृतिको निमोनिया रोगको कारण खसी बाख्रा मरेको बताए ।
स्थानीय किसानले भने समयमा पिपिआर रोग विरुद्धको खोप नलगाएको कारण बाख्रा खसी मरेकाे बताए ।









