मलंगवा,चैत -२१ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले उच्च हावाहुरीको जोखिमबारे स्थानीय बासिन्दालाई सचेत गर्दै अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको जानकारीअनुसार सर्लाही, रौतहट र महोत्तरी लगायत आसपासका क्षेत्रहरुमा ४० देखि ५० किलोमिटर प्रतिघण्टा वेगको तीव्र हावाहुरी चल्ने सम्भावना रहेको बताइएको छ।
प्रशासनिक अधिकृत कृष्णदेव रायद्वारा जारी गरेको सूचना अनुसार तीव्र हावाहुरीका कारण ठूला रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, साथै विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम उच्च रहेको छ।
यस परिस्थितिमा जनसाधारणले आवश्यक सावधानी अपनाउनुपर्ने उल्लेख गरिएको छ। उनले “अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किनुहोला। सुरक्षित स्थानमा रहेर मौसम प्रतिकूल असरबाट जोगिन आवश्यक छ,” भनेका छन्।

सूचना अनुसार, प्रशासनले स्थानीय समुदायसँग समन्वय गरी जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउने, आपतकालीन टोली तयार राख्ने र आपतकालीन परिस्थितिमा उद्धार तथा राहत कार्यलाई छिटो प्रभावकारी बनाउन तयारी पूरा गरेको छ।
साथै विद्युत् र सञ्चार सेवामा समस्या आउँदा तत्काल पहल गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइएको छ।
मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिनभित्र हावाहुरीसँगै हल्का वर्षा पनि हुन सक्ने सम्भावना रहेको जानकारी दिएको छ।

यस अनुसार, किसान, व्यवसायी र विद्यालय प्रशासनलाई विशेष सतर्कता अपनाउन सुझाइएको छ। महाशाखाले हावाहुरीको गतीमा वृद्धि भएमा स्थानिय प्रशासनलाई थप सचेतता अपनाउन भनेको छ।
जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तह, सामुदायिक संगठन र नागरिकलाई आवश्यक सूचनाको प्रचार प्रसार गर्न आग्रह गरेको छ।
साथै, पुराना र कमजोर घर, गोदाम र पसलमा विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिएको छ। आवश्यक परेमा आपतकालीन सहायता केन्द्रको प्रयोग गर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक जानबाट बच्न सबैमा अनुरोध गरिएको छ।
प्रशासनले नागरिकलाई सुरक्षित रहन, बालबालिका र वृद्धवृद्धाको विशेष ख्याल राख्न र कुनै पनि आपतकालीन स्थिति आएमा १०७० नम्बरमार्फत सूचना दिन सकिने व्यवस्था गरेको छ।









