
काठमाडौं, चैत ३ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदलाई निर्वाचन आयोगले चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ।

आयोगले बिहान साढे ११ बजे आफ्नै परिसरमा औपचारिक कार्यक्रम गरी प्रमाणपत्र हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ।

समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार राजनीतिक दलहरूले सिफारिस गरेका उम्मेदवारको नामावली सार्वजनिक भइसकेको छ भने सोही आधारमा निर्वाचित घोषणा गरिएको हो। आयोगले निर्वाचित सदस्यहरूलाई सक्कल नागरिकता वा राष्ट्रिय परिचयपत्र तथा दुई प्रति पासपोर्ट साइजका तस्बिरसहित आवश्यक विवरण तत्काल उपलब्ध गराउन आग्रह गरेको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि समानुपातिकतर्फ छ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट प्राप्त गर्दा नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट हात पारेका छन्।

आयोगले समानुपातिकतर्फ निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरेसँगै यसपटकको निर्वाचन प्रक्रिया औपचारिक रूपमा सम्पन्न हुने जनाइएको छ।









