सर्लाही, चैत-१ । सर्लाहीको लालबन्दी नगरपालिका–१ बागवानीस्थित पूर्वपश्चिम लोकमार्गमा गयराति बसले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार शनिवार राति करिब ७:३५ बजेकाे समयमा
विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प.–०३–००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र.२–०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।


दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।घाइतेलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा, सर्लाही पठाइएको प्रहरीले जनाएको छ।उपचारका क्रममा राति करिब ९:०० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतक पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१ छप्कैया घर भई हाल सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर बस्दै आएका नागेन्द्र महतोका छोरा अन्दाजी ३४/३५ वर्षका सुनिल महतो रहेका प्रहरीले जनाएको छ।
दुर्घटनापछि बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।बस चालक दाङ जिल्लाको तुल्सीपुर नगरपालिका–९ निवासी अन्दाजी ३४ वर्षीय गणेश बस्नेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरी प्रवक्ता डिएसपी सराेज राईले चियाेचर्चाे खबरलाई जानकारी दिए ।


पूर्व-पश्चिम राजमार्गमा सवारीसाधनको चाप बढी रहने तथा तीव्र गतिका कारण यस्ता दुर्घटना बारम्बार हुने गरेको स्थानीयले बताएका छन्। सडक सुरक्षाका उपाय प्रभावकारी
रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ।