![]()
काठमाडौँ, माघ २३ । नेपाली कांग्रेसका सभापति एवम् सर्लाही क्षेत्र नं-४ का उम्मेदवार गगनकुमार थापाले पार्टीको सन्देश प्रभावकारी रूपमा मतदातामाझ पुर्याउन सके आगामी फागुन २१ गते हुने निर्वाचनमा कांग्रेसलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन्।

शुक्रबार नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले आगामी निर्वाचनमा पार्टीको जित कार्यकर्ता र नेतृत्वको सक्रियतामा निर्भर रहने बताए। उनले सोहीअनुसार संगठनात्मक रूपमा मिहिनेत गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

थापाले विगतका निर्वाचनमा कांग्रेससँग असन्तुष्ट रहेका मतदातासँग सम्पर्क विस्तार गर्दै पार्टीका योजना र एजेन्डाबारे स्पष्ट जानकारी दिनुपर्ने आवश्यकता औंल्याए। नयाँ पुस्ता (जेनजी) सँग संवाद र छलफल गर्दै अघि बढ्ने रणनीति पार्टीले लिएको उनको भनाइ थियो।
![]()
पार्टीभित्र रहेका असन्तुष्टि र मतभिन्नताका समस्या क्रमशः कम हुँदै गएको उल्लेख गर्दै थापाले निर्वाचनमा कांग्रेसलाई एकढिक्का बनाएर लैजाने विषयमा पूर्वसभापति शेरबहादुर देउवालगायत नेतासँग निरन्तर संवाद भइरहेको जानकारी दिए।
उनले भने, “आजको दिनमा हाम्रो सन्देश मात्रै ठीक ढङ्गले घरघरमा पुर्याउन सक्यौं भने कांग्रेसले शानदार परिणाम ल्याउनबाट कसैले रोक्न सक्दैन। जित भइसक्यो भन्ने होइन, यो तपाईं र ममा भर पर्छ। तल मतदाता छन्, उनीहरू के सोचिरहेका छन् भन्ने बुझ्न आवश्यक छ।”

अघिल्लो निर्वाचनमा करिब २७ लाख मतदाताले असन्तुष्टि हुँदाहुँदै पनि कांग्रेसलाई मत दिएको उल्लेख गर्दै थापाले नवपुस्तासँग थप जोडिनुपर्ने आवश्यकता रहेको बताए। सबै कार्यकर्ता उम्मेदवारझैं सक्रिय भएर सन्देश प्रवाह गर्न सके यस निर्वाचनमा कांग्रेसले उल्लेखनीय सफलता हासिल गर्ने उनको दाबी थियो।
सभापति थापाले अबको सरकार कांग्रेसको मात्र हुने सन्देशसहित ‘अबकी बार सय पार’ को नारा अघि बढाउन कार्यकर्तालाई आग्रह गरे।









