लालबन्दी, माघ १७। लालबन्दी जेसीजले वर्ष २०२६ का लागि नवनिर्वाचित नेतृत्वको पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ। लालबन्दी शाखा वर्ष २०२५ की अध्यक्ष सुनिता खरेल थपलियाको अध्यक्षतामा तथा लालबन्दी नगरपालिकाका प्रमुख (मेयर) वासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा शनिबार सातौँ पदस्थापन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा ईश्वरपुर नगरपालिकाका मेयर मनोज आचार्यको विशिष्ट आतिथ्य रहेको थियो।


निर्वाचन अधिकृत तथा वर्ष २०२३ का अध्यक्ष मनोज बख्रेलका अनुसार गत पुस १९ गते सम्पन्न सातौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनले वर्ष २०२६ का लागि जेसी उत्सव वनलाई अध्यक्षमा चयन गरेको थियो।


अन्य पदाधिकारीहरूमा जेसी अरविन्द राय यादव र जेसी विक्रम दाहाल कार्यकारिणी उपाध्यक्ष रहेका छन् भने जेसी शेषराज न्यौपाने, जेसी सिजन दंगाल, जेसी उमाकुमार श्रेष्ठ र जेसी रविन्द्र कुमार राय उपाध्यक्षमा चयन भएका छन्।


कार्यक्रममा प्रमुख अतिथि अधिकारीलगायत वक्ताहरूले व्यक्तिको होइन, विधिको शासन स्थापना हुनुपर्ने आदर्शलाई आत्मसात गर्दै अघि बढिरहेको जेसीजले समाजलाई सकारात्मक दिशामा लैजान महत्वपूर्ण योगदान पु¥याएको चर्चा गरे।
कार्यक्रममा वर्ष २०२५ की अध्यक्ष सुनिता खरेल थपलियाले आफूलाई प्रदान गरिएको विश्वास, साथ र सहयोगका लागि सबैप्रति आभार व्यक्त गरिन्। उनले मार्गदर्शन, सकारात्मक सुझाव र आत्मीय हौसलाका लागि सबैलाई धन्यवाद दिइन्।


नव–निर्वाचित अध्यक्ष उत्सव वनले लालबन्दी जेसीजले निर्माण गरेको मूल्य, अनुशासन, नेतृत्व विकास तथा सामाजिक सेवाको गौरवशाली इतिहासलाई अझ उचाइमा पु¥याउन सबै सदस्यहरूको सामूहिक साथ, सुझाव र रचनात्मक आलोचना आवश्यक रहेको बताए।