
कृष्ण थपलिया/सर्लाही
माघ— ६ । नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार गगन कुमार थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । टिकट वितरणमा व्यस्त भएपछि उनले मधेश प्रदेशका उपसभापति तथा प्रदेशसभा सदस्य वीरेन्द्र प्रसाद सिंहमार्फत मनोनयन दर्ता गराएका हुन् ।

थापाले २०६४ सालको संविधानसभा निर्वाचनबाट समानुपातिक सभासद् बनेर संसदीय यात्रा सुरु गरेका थिए । गएको पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनबाट उनी नेपाली कांग्रेसको सभापति निर्वाचित भएका हुन् । विशेष महाधिवेशनको निर्णयलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि देउवा समूह सर्वोच्च अदालत पुगेको थियो । तर सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै,मंगलवार देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको मागदाबी खारेज गरिदिएको छ । कांग्रेसले थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ ।

यस निर्वाचन क्षेत्रमा बरहथवा नगरपालिका, बसबरिया, धनकौल, रामनगर गाउँपालिका, बलरा र गोडैटा नगरपालिका तथा विष्णु गाउँपालिकाका विभिन्न वडाहरू पर्छन् ।
यसपटक सर्लाही–४ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट डा. रजनीश राय, एमालेबाट रवि सिंह कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरेशकुमार सिंह र जनता समाजवादी पार्टीबाट रामेश्वर रायले पनि उम्मेदवारी दर्ता गराएका छन् । यसअघि काठमाडौं–४ बाट निरन्तर निर्वाचन जित्दै आएका सभापति थापा यसपटक सर्लाहीबाट प्रतिस्पर्धामा उत्रिएका हुन् ।

कांग्रेस सर्लाही क्षेत्र नम्बर ४ (क)बाट प्रदेशसभामा निर्वाचित मधेश प्रदेश उपसभापति वीरेन्द्र प्रसाद सिंहले गगन थापा विद्यार्थी राजनीतिबाट उदाएका, युवाको आवाजलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न सफल नेता भएको बताए । “उहाँमा परम्परागत सोचभन्दा फरक, नीति र भविष्यकेन्द्रित दृष्टिकोण छ,” उनले भने, “उहाँ नेता मात्र होइन, राजनेता हुनुहुन्छ । सर्लाही–४ ले यस्तो उम्मेदवार पाएकोमा हामी गौरवान्वित छौं ।”कांग्रेसका युवा नेता गजेन्द्र साहले थापाले स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्य बीमा कार्यक्रम, आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार र औषधि व्यवस्थापन सुधारमा महत्वपूर्ण काम गरेको उल्लेख गरे ।

महामन्त्रीको रूपमा पार्टीभित्र पुस्तान्तरण,‘आन्तरिक लोकतन्त्र र नीति आधारित राजनीतिलाई प्राथमिकता दिएको भन्दै युवाहरूले खोजेको नेतृत्व गगन थापा भएको र उहाँले १५ हजार मतान्तरले जित्नुहुन्छ,‘उनले भने ।









