
लालबन्दी,माघ— ५, नेपाली कांग्रेसले सर्लाहीका चारै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। सर्लाही क्षेत्र नं. १ बाट शम्भुलाल श्रेष्ठले टिकट प्राप्त गरेका छन्।

दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित श्रेष्ठले टिकट पाएको पुष्टि गर्दै काठमाडौँबाट सर्लाही फर्कँदै गरेको चियोचर्चो दैनिकसँग बताए । संविधानसभा सदस्यसमेत रहेका श्रेष्ठले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजै मनोनयन दर्ता गर्ने बताए। “पार्टीले मलाई टिकट दिएको छ। सर्लाही क्षेत्र नं. १ को विकासका लागि अझै धेरै काम गर्न बाँकी छन्, म दिलोज्यान दिएर काम गर्नेछु,” उनले भने।

क्षेत्रका आम नागरिकप्रति आफूलाई पूर्ण विश्वास रहेको उल्लेख गर्दै श्रेष्ठले सबैबाट अनुमोदन र पार्टीका नेताकार्यकर्ताबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। विशेष महाधिवेशनपछि पार्टीमा नयाँ उभार आएको र लामो समयपछि रुख चिह्नमा भोट हाल्ने अवसर आएको बताउँदै उनले मतदाताबाट आफु अनुमोदीत हुने विश्वास व्यक्त गरे ।

हिजो संसदीय निर्वाचन अधिकृतको कार्यालयमा भएको छलफलअनुसार आज दिउँसो ३ः३० बजे मनोनयन दर्ताका लागि समय तोकिएको नेपाली कांग्रेस मधेस प्रदेश समिति सदस्य रामबाबु साहले जानकारी दिए। उनका अनुसार दिउँसो १ बजे नेताकार्यकर्ता लालबन्दी–९ स्थित बस्तीपुर चोकमा भेला भई मनोनयन दर्ताका लागि जाने कार्यतालिका छ ।
यसैगरी सर्लाही क्षेत्र नं. २ बाट कांग्रेसका पूर्व सभापति तथा पूर्व मन्त्री नगेन्द्रकुमारका छोरा, कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा. सरोज कुमारले टिकट प्राप्त गरेका छन्। निर्वाचन अधिकृतको कार्यालय सर्लाही क्षेत्र नं. २ ले दिएको समयअनुसार दिउँसो १२ बजे कुसुम पार्टी प्यालेसमा भेला भई अपराह्न ४ बजे मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको डा. सरोज कुमारले जानकारी दिए।

सर्लाही क्षेत्र नं. ३ का लागि कांग्रेस नेता विनोदकुमार खनालले आज बिहान टिकट पाएका छन्। टिकट लिएर मनोनयन दर्ताका लागि फर्कँदै गरेको नेता खनालले जानकारी दिए ।
त्यस्तै सर्लाही क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका मधेस प्रदेश उपसभापति तथा पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहले टिकट पाएका छन्। दिउँसो १ बजे धनकौलस्थित निवासमा भेला भई गोडैता बजारमा रहेको संसदीय निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अपराह्न ४ बजे मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको नेपाली कांग्रेसका निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंहले चियोचचो दैनिलाई जानकारी दिए ।









