चन्द्रनगर,माघ— १ गते । तराईमधेश क्षेत्रमा केही दिनयता व्याप्त शीतलहर तथा अत्यधिक चिसोबाट प्रभावित चन्द्रनगर गाउँपालिकाका अति विपन्न दलित महिलालाई न्यानो फाइबर सिरक वितरण गरिएको छ ।


महिला सशक्तीकरण र उत्थानका लागि क्रियाशील संस्था “टेवा” को सहयोगमा चन्द्रनगर गाउँपालिकाभित्रका विपन्न दलित महिलालाई फाइबर सिरक प्रदान गरिएको हो। बिहीवार आयोजित एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष राजकुमार महतोले वडा नम्बर–१ अन्तर्गतका किसनपुर, रतनपुर, लघुवा तथा फरिड्टोल क्षेत्रका महिलालाई सिरक वितरण गरेका हुन् ।


कार्यक्रममा अध्यक्ष महतोले शीतलहरका कारण गरिब तथा विपन्न परिवार सबैभन्दा बढी प्रभावित हुने गरेको उल्लेख गर्दै, यस्तो समयमा टेवाले गरेको सहयोग अत्यन्तै सराहनीय र पुण्यको काम भएको बताए। “चिसोका कारण दैनिक जीवन कष्टकर बनेको अवस्थामा न्यानो सिरकले विपन्न परिवारलाई ठूलो राहत मिल्नेछ,” उनले भने ।
अध्यक्ष महतोका अनुसार यसपटक “टेवा” कुल २२४ जना विपन्न दलित महिलालाई फाइबर सिरक वितरण गरिएको हो।

सिरक प्राप्त गरेपछि स्थानीय दलित तथा विपन्न महिलाहरूले खुशी व्यक्त गर्दै सहयो गर्ने संस्था टेवा र गाउँपालिकाप्रति आभार प्रकट गरेका छन्।सिरक वितरण कार्यक्रममा संस्थाका प्रतिनिधि, स्थानीय अगुवा तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी नेविसंघ जिल्ला कार्यसमिति सदस्य आदित्य महतोले चिसोबाट बढी प्रभावित समुदायलाई लक्षित गरी गरिएको यस्तो सहयोगले सामाजिक सद्भाव र मानवीय सेवाको भावना सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । स्थानीयवासीहरूले आगामी दिनमा पनि यस्ता राहतका कार्यक्रम निरन्तर सञ्चालन गर्न सरोकारवाला निकायसँग आग्रह गरेका छन्।