
लालबन्दी, पुस २३ । सर्लाहीको लालबन्दीमा मानसिक स्वास्थ्यसम्बन्धी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लालबन्दी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बुधवार सम्पन्न कार्यक्रममा २५ जना महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो।
यसअघि पहिलो चरणमा विद्यालय नर्समार्फत विद्यालयहरूमा कार्यक्रम सञ्चालन गरिएको थियो। सरकारले मंसिर २७ गतेदेखि देशव्यापी रूपमा तीन महिने अभियानका रूपमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो अभियान फागुन २७ गतेसम्म चल्नेछ।

सोही अभियानअन्तर्गत बुधवार लालबन्दी नगर अस्पतालको सभाहलमा महिला स्वास्थ्य स्वयंसेविकालाई सहभागी गराई अभिमुखीकरण कार्यक्रम गरिएको स्वास्थ्य शाखाले जनाएको छ। लालबन्दी नगरपालिकामा हाल १०५ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन्। उनीहरूलाई चरणबद्ध रूपमा अभिमुखीकरण कार्यक्रममा सहभागी गराइने जनस्वास्थ्य अधिकृत रोशन चौधरीले जानकारी दिए।

कार्यक्रममा लालबन्दी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा मनोचिकित्सक डा. चन्दन चौधरीले सहजीकरण गरेका थिए। हरेक चार जनामध्ये एक जनामा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या देखिने तथ्यांकले देखाएको डा. चौधरीले बताए। उनका अनुसार लालबन्दी नगर अस्पतालबाट मात्र गत आर्थिक वर्षमा १ हजार ५ सयभन्दा बढी व्यक्तिले मानसिक स्वास्थ्य समस्या सम्बन्धी उपचार तथा परामर्श सेवा लिएका थिए।

समुदायस्तरमा मानसिक स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको डा. चौधरीको भनाइ छ। घर–घरमा पुगेर स्वास्थ्य सन्देश प्रवाह गर्ने, जनचेतना बढाउने तथा आवश्यक परे उपचार सेवामा जोड्ने काममा उनीहरू समुदायको आधारस्तम्भका रूपमा स्थापित भएको उनले बताए।
मानसिक स्वास्थ्यसम्बन्धी विषय अझै पनि धेरै स्थानमा लुकाइने वा गलत बुझाइका कारण उपेक्षित हुँदै आएको अवस्थामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले स्थानीय भाषा र सन्दर्भअनुसार सचेतना फैलाउने काम गरिरहेको उनले उल्लेख गरे। मानसिक स्वास्थ्य समस्या पनि अन्य शारीरिक रोगसरह उपचारयोग्य हुने सन्देश समुदायमा पु¥याउँदै उनीहरूले समस्या घटाउन महत्वपूर्ण योगदान दिएको डा. चौधरीले बताए।

विशेषगरी महिला, किशोरकिशोरी, वृद्धवृद्धा तथा विपन्न समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले प्रारम्भिक लक्षण पहिचान, परामर्शका लागि प्रेरणा तथा स्वास्थ्य संस्थासम्म पहुँच सुनिश्चित गर्न सहयोग गर्दै आएका छन्। मानसिक स्वास्थ्य सचेतना अभियानमा उनीहरूको सक्रिय सहभागिताले समुदायमा सकारात्मक परिवर्तन देखिन थालेको सरोकारवालाहरूको भनाइ छ।
स्वास्थ्यकर्मी तथा विज्ञहरूले मानसिक स्वास्थ्य प्रवद्र्धनमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका अझ प्रभावकारी बनाउन थप तालिम, स्रोतसाधन र संस्थागत सहयोग आवश्यक रहेकोमा जोड दिएका छन्। उनीहरूलाई सशक्त बनाउन सके समुदायस्तरमै मानसिक स्वास्थ्य सेवा र सचेतना अझ मजबुत हुने विश्वास गरिएको छ ।









