सर्लाही, पुस— २१ । जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीले आगामी निर्वाचनलाई लक्षित गर्दै तयारीलाई तीव्र बनाएको छ। यसै क्रममा जिल्ला समितिले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत सर्लाहीका चारै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ ।


जिल्ला समिति सर्लाहीको पुस २० गते बसेको बैठकले चारवटै निर्वाचन क्षेत्रका लागि सम्भावित उम्मेदवारहरूको नाम केन्द्रीय नेतृत्वसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।


सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज कुमार यादव रायलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको उक्त पार्टीले जनाएको छ । उनी पार्टी स्थापना कालदेखि नै प्रचार प्रसार, संगठन निर्माण र विभिन्न जिम्मेवारीमा सक्रिय रहँदै आएका छन्। त्यसै क्षेत्रबाट रामपृत पासवान, डा. जय प्रकाश यादव (जे.पी. यादव) र विनोद यादवको नाम पनि सिफारिस गरिएको छ।


यसैगरी, निर्वाचन क्षेत्र नं. १ बाट संजय कुमार पासवान, राम विश्वास राय र सुधिर कुमार यादव, क्षेत्र नं. २ बाट भरत चौधरी तथा क्षेत्र नं. ४ बाट रामपृत पासवान र उदयकान्त मिश्रलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको जिल्ला समितिले जनाएको छ ।


जिल्ला समिति सर्लाहीका अध्यक्ष रणधिर कुमार यादवद्वारा हस्ताक्षरित पत्रमार्फत उम्मेदवार सिफारिस केन्द्रीय नेतृत्वमा पठाइसकिएको उल्लेख छ। जसपा नेपालले “संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद” लाई मूल नाराका रूपमा अघि सार्दै संगठन विस्तार, जनसम्पर्क र निर्वाचन तयारीलाई थप सशक्त बनाउँदै लगेको जनाएको छ।