
हरिवन, पुस २० । स्वास्थ्य कार्यालय सर्लाही र हरिवन नगरपालिकाको संयुक्त आयोजना तथा सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा पुस १९ र २० गते सञ्चालन भएको परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरमा ३८ जनाले सेवा लिएका छन् ।

शिविरको पहिलो दिन शनिवार १५ जना महिला सेवाग्राहीले मिनिल्याप विधिबाट स्थायी बन्ध्याकरण सेवा लिएका थिए । यसपटकको शिविरमा ३० जनाले स्थायी बन्ध्याकरण सेवा लिने लक्ष्य राखिएको थियो । तर लक्ष्यभन्दा बढी ३८ जना महिला सेवाग्राहीले मिनिल्याप विधिबाट स्थायी बन्ध्याकरण सेवा लिएका छन् भने १ जनाले लामो अवधिको अस्थायी साधन (इम्प्लान्ट) सेवा लिएका हरिवन नगर स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले चियोचर्चो दैनिकलाई जानकारी दिए । शिविरले कुल १२६ प्रतिशत प्रगति हासिल गरेको प्रमुख चौधरीले बताए ।

शिविर सन्तानको रहर पूरा भइसकेका दम्पतीहरूलाई लक्षित गरी आयोजना गरिएको हो । शिविरको दोस्रो तथा अन्तिम दिन आइतवार २३ जनाले सेवा लिएका थिए । शिविरमा सहभागी सम्पूर्ण सेवाग्राहीलाई नगरपालिकाको तर्फबाट १–१ बट्टा च्यवनप्राश वितरण गरिएको थियो । साथै सेवाग्राहीलाई प्रतिकेस रु. ३०० मा कर कट्टी गरी रु. २५५ का दरले प्रोत्साहन रकम प्रदान गरिएको थियो ।

केश लिएर आउने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई प्रतिकेस रु. १०० का दरले यातायात खर्च उपलब्ध गराइएको प्रमुख चौधरीले बताए ।
टोलीको खाने बसोबास, प्रचारप्रसार तथा नियमानुसार पाउनुपर्ने प्रोत्साहन रकमसमेत नगरपालिकाले नै भुक्तानी गरेको प्रमुख चौधरीले जानकारी दिए। शिविर अवधिभर एउटा एम्बुलेन्ससमेत सञ्चालन गरिएको थियो ।

पछिल्लो समय यस्ता बन्ध्याकरण शिविरहरूमा पुरुषको सहभागिता अत्यन्त न्यून हुँदै गएको उल्लेख गर्दै प्रमुख चौधरीले यसपटक पनि महिलाले मात्र सेवा लिएको बताए ।









