
ब्रह्मपुरी, पुस— ९ । नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले ब्रह्मपुरी र पर्सा गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाबीच सेवा प्रवाह सुधारका विषयमा व्यापक छलफल गरिएको हो।

ब्रह्मपुरीमा सम्पन्न कार्यक्रममा ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदारथ साह तेली र पर्सा गाउँपालिकामा आयोजित कार्यक्रममा पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय विस्पत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, वडा सचिव, पालिकाका कर्मचारीहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अन्तरक्रियामा शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागू औषध नियन्त्रण, सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपायलगायतका विषयमा छलफल गरिएको प्रमुख जिल्ला अधिकारी कडरीयाले जानकारी दिए । उनका अनुसार नागरिकले सरकारी सेवा लिन जाँदा अनावश्यक दुःख पाउन नपरोस् भन्ने उद्देश्यले स्थानीय तह र जिल्ला प्रशासनबीच समन्वय आवश्यक रहेको बताए ।

कार्यक्रममा विशेषगरी नागरिकता सिफारिस प्रक्रिया सहज बनाउने विषयमा जोड दिइएको जिल्ला प्रशासन कार्यलय मलंगवाले जनाएको छ । अन्तरक्रियाको क्रममा नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय आउँदा आवश्यक कागजात नपुगेर सेवाग्राही खाली हात फर्किन नपरोस् भनी वडा कार्यालयबाटै आवश्यक सम्पूर्ण कागजात संकलन गरी पठाउने व्यवस्था गर्न आग्रह गरिएको थियो । सोही क्रममा नागरिकता प्राप्त गर्न आवश्यक कागजातहरूको विस्तृत चेकलिस्ट तयार गरी वडा अध्यक्षहरूलाई हस्तान्तरण गरिएको थियो।

स्थानीय जनप्रतिनिधिहरूले यस्ता अन्तरक्रिया कार्यक्रमले सेवा प्रवाहमा देखिएका समस्या पहिचान गर्न र समाधान खोज्न सहयोग पुग्ने बताएका छन्। कार्यक्रममा सहभागीहरूले स्थानीय तह र प्रशासनबीचको सहकार्य अझ मजबुत बनाएर नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।









