
लालबन्दी, पुस ८ । सर्लाहीको लालबन्दी नगरपालिका—६ मा रहेको सुर्योदय लाइफ केयर सेन्टर प्रा.लि.को आयोजनामा एकदिने निःशुल्क आँखा तथा नाक,कान,घाँटी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरबाट १०४ जना बिरामी लाभान्वित भएको अस्पताल प्रशासनले जनाएको छ । तीमध्ये ३४ जनाको निःशुल्क शल्यक्रिया (अपरेसन)को व्यवस्था गरिएको सुर्योदय लाइफ केयर सेन्टरका चिकित्सक डा. रोशन कुमार महतोले चियोचर्चो दैनिकलाई जानकारी दिए।

शिविर रेयुकाई एइको मासुनागा आँखा अस्पताल, मिथिला—७, ढल्केवर (धनुषा)को प्राविधिक सहयोगमा सम्पन्न भएको हो। शिविर सञ्चालनको लागि सम्पूर्ण खर्च सुर्योदय लाइफ केयर सेन्टर प्रा.लि.ले नै व्यहोरेको डा. महतोले बताए । उनले प्राविधिक सहयोग प्रदान गरेकोमा रेयुकाई एइको मासुनागा आँखा अस्पताललाई धन्यवादसमेत ज्ञापन गरे ।

शिविरमा आँखा परीक्षण, आवश्यक औषधि वितरण, मोतियाबिन्दुको शल्यक्रिया गरिनुकासाथै शल्यक्रिया आवश्यक पर्ने बिरामीका लागि ल्याब परीक्षणको व्यवस्था गरिएको थियो। शिविर मंगलवार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गरिएको आयोजका सुर्योदय लाइफ केयर सेन्टर प्रा.लिले जनाएको छ । शल्यक्रिया गरिएका बिरामीहरूलाई अपरेसनपश्चात आवश्यक औषधि र खानाको समेत व्यवस्था गरिएको डा. महतोले जानकारी दिए ।

उता, जिल्लाकै ईश्वरपुर नगर अस्पतालमा मंगलवारदेखि एकीकृत प्रजनन स्वास्थ्य शिविर सुरु भएको छ। शिविर बिहीवारसम्म सञ्चालन हुने जनाइएको छ। ईश्वरपुर नगरपालिका कार्यालयको आयोजनामा पाठेघरको मुखको क्यान्सर जाँच, पाठेघर झर्ने समस्या, भिआइए परीक्षण तथा महिलामा देखिने प्रजनन स्वास्थ्यसम्बन्धी रोगको जाँच र उपचारका लागि शिविर आयोजना गरिएको हो।

शिविरमा सेवा लिन आउने महिलाको उपचारका लागि प्रादेशिक अस्पताल मलंगवाका स्त्रीरोग विशेषज्ञ डा. सचिन कुमार रायसहितको टोली सेवा दिने व्यवस्था गरिएको ईश्वरपुर नगरपालिका स्वास्थ्य शाखाका संयोजक सुगेन्द्र महतोले जानकारी दिए। शिविरमा परिवार नियोजन बन्ध्याकरण सेवा समेत प्रदान गरिने जनाइएको छ।









