
मलंगवा, पुस—१ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना २८ बुँदे मागहरू तत्काल कार्यान्वयन गर्न सरकारलाई चेतावनी दिएको छ । सर्लाहीको मलंगवामा मंगलवार विरोध सभाको आयोना गरि उक्त पार्टीले सरकार जनताको आवाजप्रति उदासीन बनेको आरोप लगाउँदै दबाबमूलक आन्दोलनलाई चरणबद्ध रूपमा अघि बनाउने जनाएको हो।

सभामा बोल्दै जसपा नेपाल जिल्ला समिति सर्लाहीका अध्यक्ष रणधिर यादवले समावेशिता, सुशासन, सामाजिक न्याय र जनजीविकासँग जोडिएका मागहरूलाई राज्यले बेवास्ता गरिरहेको बताए। उनले जनताको अधिकार सुनिश्चित नगरेसम्म आन्दोलन नरोकिने स्पष्ट पारे। वक्ताहरूले सरकार जनसरोकारका विषयमा गम्भीर नदेखिएको भन्दै सडकबाटै दबाब सिर्जना गर्न बाध्य भएको बताएका छन्।

पार्टीका नेताहरूले २८ बुँदे माग कुनै दलगत स्वार्थका लागि नभई आम नागरिकको जीवनस्तर सुधारसँग प्रत्यक्ष रूपमा जोडिएको दाबी गरे।

विरोध सभामा पार्टीका केन्द्रीय सदस्य सुनैना चौधरी, मिरा मण्डल, राष्ट्रिय सभाका पूर्व सदस्य रामपृत पासवान, जिल्ला उपाध्यक्ष तथा चक्रघटा गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादव, बसवरिया गाउँपालिका अध्यक्ष राम सिहासन यादव, कविलासी नगरपालिकाका पूर्व मेयर कौशल किशोर यादवलगायत स्थानीय तहका जनप्रतिनिधि, नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।

जसपा नेपाल जिल्ला समिति सर्लाहीको मंगलवार सम्पन्न विरोध सभाले आगामी दिनमा आन्दोलन थप व्यापक र प्रभावकारी बनाउने संकेत गरेको छ ।









