ईश्वरपुर, मंसिर— २ गते । ईश्वरपुर नगरपालिका वडा नम्बर— १२ पिपलदमार आधारभूत विद्यालयमा मंगलवार “मेयरसँग ज्येष्ठ नागरिक स्वास्थ्य शिविर” सम्पन्न भएको छ । नगर प्रमुख मनोज कुमार आचार्यको प्रमुख आतिथ्यतामा आयोजित शिविरमा स्थानीय बासिन्दाले विभिन्न स्वास्थ्य सेवाहरू प्राप्त गरेका कांग्रेस नेता मद विश्वकर्माले जानकारी दिए ।


शिविरमा १३० जना साधारणको स्वास्थ्य परीक्षण गरिएको थियो । ६७ जना महिलाले प्रजनन स्वास्थ्य सेवा लिएकोमा ३० जनाले भियाइए परीक्षण गराए भने १० जनामा पोजिटिभ नतिजा आएपछि उनीहरूको थर्मोकॉगुलेसन उपचार गरिएको थियो । त्यस्तै ३० जनाले यौनसञ्चारित रोग सम्बन्धी सेवा लिएका थिए भने अन्य १७ जनाले विविध प्रजनन स्वास्थ्य परामर्श प्राप्त गरेका ईश्वरपुर नगर स्वास्थ्य शाखाले जनाएको छ ।


शिविरमा १२७ जनाले आँखा उपचार सेवा लिएको मा २८ जनामा शल्यक्रिया आवश्यक देखिएकाले उनीहरूलाई थप उपचारका लागि रिफर गरिएको छ । त्यस्तै २०४ जनाले आयुर्वेदिक उपचारमा सेवा ,२४० कृषकले पशु स्वास्थ्य सेवामा लिएको बताइएको छ ।


सोही अवसरमा पिपलदमार आधारभूत विद्यालयका १२७ जना विद्यार्थीलाई समाजसेवी सुनिता आचार्यले (लायन्स क्लब) को सहयोगमा न्यानो कपडा र कापी वितरण गरेकी थिइन् । गाउँमै आयोजना गरिएको शिविरबाट आफुहरुले ठूलो राहत पाएको भन्दै स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन्।