
सर्लाही, कात्तिक—३० गते । सर्लाहीमा आईतवार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा गम्भीर घाइते भएका दुईजनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।
चन्द्रनगर गाउँपालिका–२ बिर्ता नजिक दिउँसो प्रदेश २–०२–००१ त २२४१ नम्बरको ट्रयाक्टर र प्रदेश २–०३–०१३ प १९९७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा चन्द्रनगर–३ बडकुर्वाका २८ वर्षीय मोटरसाइकल चालक अक्षयकुमार सिंह कुशवाहा गम्भीर घाइते भएका थिए ।

घाइते कुशवाहालाई बयलवासमा प्राथमिक उपचार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्रयाक्टर प्रहरी नियन्त्रणमा रहेको छ भने चालक फरार छन् ।
त्यसैगरी, आइतवार बिहानै ब्रम्हपुरी गाउँपालिका–२ धर्मपुर टोलमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एक युवकलाई पनि काठमाडौं पु¥याइएको छ।

बयलवासबाट मलंगवातर्फ जाँदै गरेको ना ४१ प ३३०९ नं.को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार ईश्वरपुर नगरपालिका–७ बयलवासका २० वर्षीय उमर मिकरानी घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका मिकरानीलाई बयलवासमा सामान्य उपचारपछि अल्टिच्यूट हेलिकप्टरमार्फत काठमाडौं लगिएको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक नितेशकुमार सिंहले जानकारी दिए ।










