
धनकौल,कात्तिक—३० गते । अन्नपूर्ण चिनी उद्योगबाट वर्षौँदेखि नपाएको उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै सुरु भएको किसानको धर्ना स्थानीय प्रशासनको पहलमा तत्कालका लागि स्थगित गरिएको छ। गत आइतवारदेखि उद्योगको मुख्य गेटमा तालाबन्दी गरी धर्नामा बसेका किसानहरूले उद्योग प्रशासनसँग छलफल प्रक्रियाका अघि बढाउन अवसर दिदै धर्ना केही समयका लागि स्थगित गरेका हुन् ।

किसानका अगुवा रामआधार राय यादवका अनुसार प्रशासनले उद्योगपतिसँग छिटै समाधान निकाल्ने प्रतिबद्धता जनाएपछि धर्ना स्थगित गरिएको हो। “धर्ना गरिराखेर बस्दा पनि कुनै काम अगाडि बढ्ने अवस्था थिएन,” यादवले भने, “प्रशासनले सकारात्मक पहल गर्ने बताएपछि हामीले अस्थायी रूपमा आन्दोलन रोकेका छौँ।”
उद्योगले करीब ९ करोड ७० लाख रुपैयाँ भुक्तानी दिन बाँकी राखेको किसानको दाबी छ। आर्थिक वर्ष २०७०÷७१ देखि नै रकम नपाएपछि किसानहरू बारम्बार आन्दोलनमा उत्रिन बाध्य हुँदै आएका छन्। २०८० फागुनमा उद्योगले २०८१ जेठ मसान्तभित्र बक्यौता भुक्तानी गर्ने लिखित वाचा गरे पनि कार्यान्वयन नभएपछि उखु किसान आन्दोलित भएका थिए ।

उता अन्नपूर्ण चिनी उद्योग प्रशासनले भने बक्यौता विवाद पुरानो मिल मालिक र नयाँ मालिकबीचको कानुनी प्रक्रियामा अड्किएको बताउँदै किसानलाई धैर्य गर्न आग्रह गरेको छन् । उद्योगका प्रशासकीय प्रमुख रमेश प्रसाद श्रीवास्तवका अनुसार पुरानो भुक्तानी कसले तिर्ने भन्ने विवादसर्लाही जिल्ला अदालतमा विचाराधीन छ। “हामी कानुनले तोकेको बाटोबाटै समाधान खोजिरहेका छौँ,” उनले स्पष्ट पारे। यता जिल्ला प्रशासन कार्यालय सर्लाहीले उद्योगका हालका मालिक शैलेन्द्र गुप्तालाई आईतवार किसानसँग छलफलका लागि बोलाएका थिए । किसानहरूले भने निर्धारित समयभित्र ठोस प्रगति नभए आन्दोलन पुनः सुरु गर्ने चेतावनी दिएका छन्।










