लालबन्दी, कात्तिक—१८ गते — हरेक वर्ष लालबन्दी–३, भैरवपुरमा कार्तिक पूर्णिमाको दिनदेखि लाग्ने त्रिवेणी मेला यस वर्ष कुनै औपचारिक उद्घाटन कार्यक्रम नगरी मङ्गलवारबाट सुरु भएको छ । बाँसको लिङ्गोमा महावीरको झण्डा राखी गाडेर मेलाको उद्घाटन गरिएको लालबन्दी–३ का वडाध्यक्ष बुद्धदेव चौधरीले जानकारी दिए । उनका अनुसार बुधवार (आज) पूर्णिमाको अवसरमा स्नान गरी भाकल अनुसार बोका–पाठी वलि दिएपछि मेलास्थलमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।
यस वर्ष मेलामा जिल्लाका विभिन्न पालिकासँगै भारतको विहार राज्यका भुती तथा रिगा क्षेत्रबाट पनि धामी–झाँक्री आएका छन् । उनीहरूले घाटमा स्नान गरी भाकल अनुसार वलि दिने परम्परा रहेको वडाध्यक्ष चौधरीले बताए । वलिको कार्यक्रम सम्पन्न भएपछि धामी–झाँक्रीहरू आफ्ना–आफ्ना गन्तव्यतर्फ फर्कने गर्छन् ।


मेलाको अर्को मुख्य आकर्षण भनेको सामाचकेवा प्रदर्शनी हो । मङ्गलवार सामाचकेवालाई दही–चिउरा खुवाउने विधि सम्पन्न भएको र बुधबार सख्खरको खीर खुवाउने विधि सम्पन्न गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । त्यस्तै बिहीवार सामाचकेवाको मूर्तिलाई डालियामा राखी महिलाहरू गाउँका घर–घरमा पुग्ने चलन रहेको छ । उनीहरूलाई देउसी–भैलोमा जस्तै गच्छेअनुसार दान दिने चलनमा रहेको वडाध्यक्ष चौधरीले जानकारी दिए ।
लालबन्दी नगरपालिका–३, जब्दी भैरवपुरमा लागेको “त्रिवेणी मेला २०८२” हरेक वर्षझैं यस वर्ष पनि भव्य रूपमा सञ्चालन हुँदैछ । १८ गतेबाट सुरु भएको मेला २२ गतेसम्म सञ्चालन हुनेछ ।

मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने बताइएको छ । गायिका सोनु कुशमी, मोडेल तथा नृत्याङ्गना क्रिस्टिना लगायत अन्य थुप्रै कलाकारहरूले बेजोड नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्नेछन् । आयोजकका अनुसार कार्तिक २० गतेसम्म निरन्तर सांस्कृतिक प्रस्तुति रहनेछ ।
संस्कृति र परम्पराको संरक्षणका उद्देश्यले आयोजना गरिएको यस मेलामा थारु समुदायको सामाचकेवा नृत्य, धामी–झाँक्री नृत्य, र स्थानीय जातीय परिकारहरूको प्रदर्शनी समेत राखिएको छ । साथै, थारु परिकार तथा विभिन्न स्वादिष्ट खानेकुराका स्टलहरू पनि मेलाको विशेष आकर्षणका रूपमा रहनेछन् । मेलामा विभिन्न खेल–तमासा, रोटेपीङलगायत मनोरञ्जनका साधनहरू पनि उपलब्ध गराइएको मेला समितिले जनाएको छ ।


आयोजक समितिले बालबालिकादेखि वृद्ध–वृद्धासम्म सबैलाई मेलामा सहभागी भई मनोरञ्जन लिन र मेलालाई सफल बनाउन आग्रह गरेको छ । त्रिवेणी मेला प्रत्येक वर्ष धार्मिक, सांस्कृतिक र सामुदायिक एकताको प्रतीकका रूपमा मनाइँदै आएको छ । यस वर्ष पनि मेलाले स्थानीय पर्यटन, संस्कृति र सामाजिक एकताको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । उता सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा पनि कात्तिक स्नान गर्न आउनेको घुइँचो लागेको छ ।