मलंगवा, कार्तिक —१० गते । गृह मन्त्रालयले आइतवार ३६ जना सहसचिवहरूको सरुवा गर्दै २५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको जिम्मेवारी हेरफेर गरेको छ । सोही क्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई गोरखा पठाइएका छन् भने रामु राज कडरियालाई सर्लाही आउने भएका छन् ।


सर्लाहीमा कार्यरत रहँदा सीडीओ श्रेष्ठले शान्ति–सुरक्षा, सीमापार अपराध नियन्त्रण र जिल्ला प्रशासनिक संयोजनमा सक्रिय भूमिका खेलेका थिए । अब उनले गोरखामा प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यभार सम्हाल्नेछन् ।
श्रेष्ठको स्थानमा आएका रामु राज कडरिया पनि अनुभवी प्रशासक मानिन्छन् । उनले यसअघि विभिन्न जिल्लामा काम गर्ने क्रममा सुशासन र प्रभावकारी प्रशासनिक व्यवस्थापनमा दक्षता प्रदर्शन गरेको बुझिन्छ । कडरियाबाट सर्लाहीमा सुरक्षा, सेवा प्रवाह र प्रशासनिक समन्वय अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।


आईतवार गृहमन्त्रालयले निकालेको सरुवा लिस्ट अनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेलाई लमजुङ, बाँकेका धर्मराज जोशीलाई उदयपुर, बर्दियाका सुरेन्द्र पौड्याललाई सिराहा र रौतहटका विनोद कुमार खड्कालाई धनकुटा पठाइएको छ। त्यस्तै, दोलखामा नारायण प्रसाद रिसाल, पश्चिम नवलपरासीमा कृष्ण प्रसाद लम्साल, कैलालीमा हिरालाल रेग्मी र अर्घाखाँचीमा तोय नारायण सुवेदीलाई जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री अर्यालको नेतृत्वमा गरिएको यो सरुवा हालैका वर्षहरूमा प्रशासनिक तहमा भएको सबैभन्दा ठूलो हेरफेर मानिएको छ ।