
कृष्ण थपलिया/ सर्लाही
असोज २६ गते । तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा देशभरका बजारमा रौनक बढेको छ । चाडपर्वको तयारीस्वरूप सर्लाही लगायत भारतसँग सीमा जोडिएका तराई मधेशका जिल्लाबाट भारतीय बजारतर्फ किनमेल गर्न जाने नेपाली नागरिकको भीड बढ्दो छ । तर यसपटक पनि बिगतका वर्षमा जस्तै सीमावर्ती बजारमा नेपाली नागरिक ठगीमा परिरहेका छन् ।
भारतीय बजारमा सामान किन्न गएका नेपाली उपभोक्ताहरूले एक सय भारतीय रुपैयाँ साट्नका लागि १ सय ६६ रुपैयाँ नेपाली तिर्नुपरेको गुनासो गरेका छन् । यो दर नेपाल राष्ट्र बैंकले तोकेको आधिकारिक दरभन्दा करिब ६ रुपैयाँ बढी हो । राष्ट्र बैंकले हाल १ सय भारतीय रुपैयाँको खरिद दर १ सय ६० रुपैयाँ तथा बिक्री दर १ सय ६० रुपैयाँ १५ पैसा निर्धारण गरेको छ ।

यसरी बढी(बट्टा)तिर्नु परेपछि सस्तो सामानको आशामा सीमापार पुगेका उपभोक्ताहरू आफू ठगिएको महसुस गरिरहेका छन् । सर्लाहीका स्थानीय जितेन्द्र कुशवाहाका अनुसार सर्लाही मात्र नभई भारतसँग सीमा जोडिएका सबै सीमावर्ती बजारहरूमा नेपाली नागरिकले सयकडा पाँच देखी ६ रुपैयाँसम्म कमिसन (बट्टा) तिर्नुपर्ने अवस्था रहेको छ ।
सर्लाहीसँग सीमा जोडिएका भारततर्फका सोनवर्सा, त्रिभुवननगर,फेनरा, र बलरा नगरपालिका नजिकका बजारहरूमा अहिले भीड देखिन्छ । चिनी, तेल, मैदा, सुजी, कपडा, मसला आदि चाडपर्वमा बढी प्रयोग हुने सामानहरू भारतीय बजारमा तुलनात्मक रूपमा सस्तो पाउने भएपछि नेपाली उपभोक्ताहरू सीमापार पुग्ने गरेका हुन् । तर उनीहरू नेपाली पैसाको अवमूल्यनसँगै ठगिनु परेको छ ।
सीमामा सहज र पर्याप्त दरमा पैसा साट्ने व्यवस्था नहुनु, बैंकको सेवामा झन्झट हुनु, तथा धेरै गाउँघरका नागरिक बैंकिङ प्रणालीसँग अनविज्ञ हुनु पनि यस्ता समस्याको जड हो । नेपाल बैंक तथा अन्य बैंकरले सीमावर्ती क्षेत्रमा भारतीय मुद्रा सटहीको व्यवस्था गरे पनि त्यहाँ लामो लाइन बस्नुपर्छ, प्रक्रिया झन्झटिलो लाग्छ, र धेरै नागरिक लेखपढमा कमजोर भएकाले पनि बैंकको सेवा लिन गाह्रो महसुस गर्छन् ।

सोनवर्सा बजारमा भेटिएकी प्रमिलादेवी माझी (मुसहर) भन्छिन्, “हामी पढेलेखेका छैनौं, बैंकमा जान डर लाग्छ । लाइन धेरै हुन्छ, झन्झट पनि हुन्छ । त्यसैले सिधै बट्टा तिरेर किनमेल गर्छौं।“उनी हरेक वर्ष तिहार र छठका लागि आवश्यक सामान यहीँ बजारबाट किन्ने गर्छिन्।
भारतीय व्यापारीहरूले नेपाली रुपैयाँको अवमूल्यन गर्दै उपभोक्तामाथि दबाब सिर्जना गरिरहेका छन्। उनीहरू भन्छन्, ‘समान लिन मन भए बट्टा तिर, नभए फर्क।’ यस्तो अवस्थामा नेपाली उपभोक्ताको आत्मसम्मानसमेत चोट पुगेको देखिन्छ । उता, नेपाली व्यापारीहरू भने यस अवस्थाले ग्राहक गुमाउनु परेको गुनासो गर्छन् । सीमा क्षेत्रमा व्यापार गर्ने साना व्यापारीहरूले ग्राहक सीमापार जान थालेपछि घाटामा परिएको बताउँछन् ।
यो समस्या केवल व्यक्तिगत वा स्थानीयस्तरको मात्र नभई, समग्र राष्ट्रको आर्थिक स्वाभिमान र मुद्रा स्थिरताको विषय हो । सरकार, राष्ट्र बैंक, स्थानीय प्रशासन मिलेर यस समस्याको दीर्घकालीन समाधान खोज्न जरुरी देखिन्छ । बैंकिङ प्रणालीलाई सहज बनाउने, सटही केन्द्रहरू थप गर्ने, जनचेतना अभिवृद्धि गर्ने, र सीमावर्ती भारतीय व्यापारीहरूसँग समन्वय गर्दै नियमनकारी निकाय सक्रिय हुने हो भने यस्तो किसिमको ठगी नियन्त्रणमा आउन सक्छ।

सस्तो सामानको नाममा बढी बट्टा तिर्दा सामान सस्तो पाउनुको कुनै औचित्य रहँदैन । यस्तो अवस्थामा उपभोक्ताको समय, सम्पत्ति मात्र होइन, राष्ट्रको मुद्रा पनि कमजोर हुन पुग्छ । नेपाली रूपैयाँको मूल्य घटाएर साट्नु परिरहेको अवस्थाले दीर्घकालीन रूपमा गम्भीर आर्थिक चुनौती सिर्जना गर्न सक्छ । त्यसैले चाडपर्वको खुशीको बेला पनि सजग रहनु आवश्यक छ । सीमा पारीको बजारमा केही सस्तो सामानको लोभमा राज्यको मुद्रा र नागरिकको आत्मसम्मान दुबै बेचिनु दिनु हुँदैन ।









