काठमाडौं,असोज—२४ गते ।  बिहीबार दस खेलाडीमा सीमित नेपाललाई घरेलु टिम भियतनामले एफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा ३–१ गोलले पराजित गरेको छ।

हो चिमिन सहरको गो डाउ रङ्गशालामा मध्यान्तरसम्म नेपाल र भियतनाम १–१ ले बराबरीको स्थितिमा थियो तर पूर्वार्धको इन्जुरी समयमा लाकेन लिम्बूले रातो कार्ड पाएपछि नेपाल समस्यामा पर्‍यो । नेपालको गोलपोस्टतर्फ बल लिएर अगाडि बढिरहेको हाइ लङलाई पछाडिबाट लडाएपछि लाकेनले सिधै रातो कार्ड पाएका हुन्।

खेलको दोस्रो हाफमा घरेलु टिमले एक खेलाडीको फाइदा उठाउँदै दुई गोल थपेको थियो। घरेलु टिम भियतनामले खेलको नवौँ मिनेटमै अग्रता बनाएको थियो । भियतनामका स्ट्राइकर फरवार्ड एनग्युएन टिन लिनले डिबक्सभित्रबाट बल गोलपोस्टमा छिराएर भियतनामलाई स्वप्निल अग्रता दिलाए तर आठ मिनेटपछि नै नेपालका डिफेन्डर सनिस श्रेष्ठले गोल गरी भियतनामको खुसी धेरै बेर टिक्न दिएनन्।

खेलको १७ औँ मिनेटमा मिडफिल्डर रोहन कार्कीको फ्रिकिकलाई मिलाइदिएको बललाई डिबक्सभित्र रहेका सनिसले हेड गोल गरी खेल बराबरीको स्थितिमा ल्याए। सनिसको यो पहिलो अन्तर्राष्ट्रिय गोल भएको छ। यसै गरी नेपालले भियतनामविरुद्ध नै यो पहिलो गोल हो। यसअघिका यी दुई राष्ट्रबिच दुई खेल मात्र भएको थियो।

नेपालले २२ वर्षपछि भियतनामसँग खेलेको हो। सन् २००४ एसियन कप छनोट प्रतियोगिताको दोस्रो चरण अन्तर्गत दक्षिण कोरियाको इन्छनमा भएको पहिलो लेगमा नेपालले भियतनामसँग ५–० ले हार बेहोरेको थियो। त्यसपछि ओमानको मस्कटमा भएको दोस्रो लेगमा पनि भियतनामले नेपाललाई २–० ले हराएको थियो।

यस नतिजासँगै नेपाल तिनै खेल हारेर अङ्क तालिकाको पुछारमा यथावत् भएको छ। भियतनामले तीन खेलमा दुई जितसहित छ अङ्क बनाएको छ।