सर्लाही, असोज २३ गते – सर्लाहीको बागमती नगरपालिका–०६ स्थित राधाकृष्ण मन्दिर नजिक बाँसघारीबाट लागूपदार्थसहित एक युवकलाई प्रहरीले  पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने  २८ वर्षीय जीवन घिसिङ रहेको राजघाट प्रहरी चौकीले जनाएको छ।


बुधबार साँझ करिब ५ बजेको समयमा गस्तीमा खटिएको प्रहरी टोलीले उनलाई शंकास्पद अवस्थामा बसिरहेको देखेपछि पक्राउ  गर्दा, उनीसंग रहेको कालो रङको प्लास्टिकको झोलाभित्र लुकाएर राखिएको ठूलो परिमाणको लागूपदार्थ फेला परेको हो।


प्रहरीले घिसिङको साथबाट ट्रामाडोल लेखिएको २१४ वटा क्याप्सुल, स्पास्मोप्रोक्सिभन लेखिएको २०० वटा क्याप्सुल, करिब २५ ग्राम गाँजा, नेपाली रूपैयाँ २ हजार ५ सय ३०, सिम कार्डसहितको एक थान मोबाइल फोन र बा.प्र.०२–०३० प.५५७० नम्बरको एनएस मोडल मोटरसाइकल बरामद गरेको छ।


प्रहरीले उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरहथवा पठाएको जनाएको छ। लागूपदार्थ नियन्त्रण सम्बन्धी मुद्दामा जिल्ला अदालत सर्लाहीबाट सात दिनको म्याद थप गरी हाल अनुसन्धान भइरहेको जिल्ला  प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी सराेज राईले चियाेचर्चाे खबरलाई जानकारी दिए ।