सर्लाही, असोज- १५ गते । सर्लाहीको हरिपुर्वा नगरपालिका–१ हर्दी नदीमा माटो खन्ने क्रममा ढिस्को खसेर पुरिँदा चार जनाको मृत्यु भएको छ। बुधबार बिहान ९:२० बजे काे समयमा माटो खन्ने क्रममा अचानक ढिस्को खसेर च्यापिदा गम्भीर घाइते भएका चारै जनाको उपचारका क्रममा मृत्यु भएको हो।


प्रहरीका अनुसार घाइते भएका उनीहरूलाई तत्कालै उद्दार गरी प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो। उपचारको क्रममा बिहान १०:४५ बजे अस्पतालले सबैलाई मृत घोषणा गरेको हो।
घटनामा मृत्युु हुनेहरूमा महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–६ मगरथानाका ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्। सायदा खातुन बेधु मंसुरकी श्रीमती हुन् भने अन्य तीनजना बालबालिका हुन्।


घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी चाैकी हरिपुर्वाबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। त्यस्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक बालिष्टर सिंहको कमाण्डमा थप ११ जना प्रहरीको टोली घटनास्थलमा परिचालन गरि घाइतेकाे उद्दार गरी प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो।


घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। घर लिपपोत गर्न माटो खन्ने क्रममा घटना भएको प्रहरीकाे प्रारम्भिक अनुमान छ। (तस्बिर साैजन्य : मुकेश झा)