‘जेन–जी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीले क्षति पुर्याइएको प्रहरी बिट पुनर्निर्माण गरिरहेका लालबन्दीका युवा । तस्बिर साैजन्य: सूरज थापा ।

लालबन्दी, भदौ—२६,गते । ‘जेन–जी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीले क्षति पुर्याइएको प्रहरी बिट लालबन्दीका युवाहरूको सक्रियतामा बिहिवार पुनर्निर्माण गरिएको छ ।
लालबन्दी नगरपालिका–७ मरिण चौकस्थित प्रहरी बिट पुनर्निर्माणमा दुई दर्जनभन्दा बढी युवा सहभागी भएका वडा सदस्य सूरज थापाले जानकारी दिए । स्थानीय व्यवसायीहरूबाट संकलित आर्थिक सहयोग र युवाहरूको श्रमदानबाट बिटको पुनर्निर्माण गरी रङरोगनसहित टेबल, कुर्सी राखिएको छ । बिट निर्माणमा विक्रम लामाले निःशुल्क वेल्डिङ सहयोग गरेका थिए ।


“व्यवसायीहरूले ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए भने बाँकी रकम युवाहरूले बेहोरेर बिट पुनर्निर्माण गरि प्रहरीलाई जिम्मा लगाइएको हो,” वडा सदस्य थापाले चियोचर्चो दैनिकसंग भने।
आन्दोलनपछि सडकमा टायर बालिएको, काटि तथा सिसाका टुक्रा छाडिएको कारण प्रदूषण र सवारी आवागमनमा समस्या भएको भन्दै युवाहरूले सडक सरसफाइ गरी करिब ५ किलो काटिकिल्ला हटाएका थिए ।


गत मंगलवार ‘जेन–जी’ आन्दोलनका क्रममा लालबन्दीमा सार्वजनिक सम्पत्ति र सरकारी संरचनामा व्यापक तोडफोड र आगजनी गरिएको थियो। प्रदर्शनकारीहरूले नगरपालिका कार्यालय, स्काभेटर, पार्क, विभिन्न वडा कार्यालय, हुलाक कार्यालय, नगरप्रमुख वासुदेव अधिकारीको निवासमा रहेका मोटरसाइकल, राजनीतिक दल तथा तिनका भातृसंस्थाका कार्यालयहरूमा समेत क्षति पु¥याएका थिए।


आन्दोलनका कारण सर्लाही जिल्लाका एक दर्जनभन्दा बढी स्थायी तथा अस्थायी प्रहरी चौकी विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता डीएसपी सरोज राईका अनुसार कबिलासी, हरिपूर्वा, नारायणपुर, बहादुरपुर, संग्रामपुर, सोल्टी, राजघाट, हजरिया, कौडेना, मधुवनगोठ, फुलजोर, परवानीपुर, घारिबथान लगायत स्थानका प्रहरी चौकीहरु खाली गरिएका छन्।
स्थिति नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि मलंगवा, बरहथवा र लालबन्दी नगरपालिकामा कफ्र्यू आदेश जारी गरेको थियो।