![]()
मनोज यादव/सर्लाही भदौ -१३ गते। नेपाल शिक्षक महासंघ मलंगवा नगर समितिले शुक्रवार मलंगवा नगरपालिकाकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
पुर्वनिर्धारित कार्यक्रमअनुसार नगरपालिकामा ध्यानाकर्षण बुझाएका नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले पालिकाको मुख्य गेट अगाडि धर्नासमेत दिएका छन् ।
![]()
महासंघले विगतका आन्दोलनका क्रममा सरकारले गरेको सहमति कार्यान्वयनमा नआएको र हाल प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षा विधेयक शिक्षक–कर्मचारीमैत्री नबनेको भन्दै ध्यानाकर्षण पत्र र धर्ना दिएका हुन ।
नेपाल शिक्षक महासंघले २०७५, २०७८ र २०८० सालमा क्रमशः ३० बुँदा, ५१ बुँदा र ६ बुँदामा सरकारसँग सहमति गरेको थियो। तर ती सहमतिका आधारमा २०८१–८२ मा सञ्चालन भएको आन्दोलनपछि समेत सरकारले गरेको ९ बुँदे निर्णय र तोकिएको समयमा विधेयक पारित गर्ने लिखित प्रतिबद्धता पूरा नभएको महासंघको आरोप छ।
![]()
महासंघका अनुसार विधेयकमा केही सहमतिका बुँदा समेटिए पनि अस्थायी शिक्षकको स्थायित्व, आवधिक बढुवा, निवृत्तिभरण, पद र वेतन सुनिश्चितता, बालकक्षा शिक्षकको सेवा सुविधा, विद्यालय शिक्षकको सुरक्षा, अन्यायपूर्ण सरुवा, दरबन्दी व्यवस्थापन, सिकाइ अनुदान शिक्षकको रुपान्तरण, शिक्षण काउन्सिल गठन, प्रधानाध्यापकको ट्रेडयुनियन अधिकार लगायतका प्रमुख मुद्दा सम्बोधन नभएकाले शिक्षक–कर्मचारी आराेप छ ।
महासंघले अझै पनि प्रतिनिधिसभा र राष्ट्रिय सभामा संशोधनमार्फत विधेयकलाई सहमति अनुसार विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री बनाउन सकिने बताउँदै तत्काल कदम चाल्न सरकारसँग माग गरेको छ। अन्यथा दोस्रो चरणदेखि कठोर आन्दोलनका कार्यक्रम अघि सारिने चेतावनी पनि महासंघले दिएको छ।

यस्तै, मलंगवा नगरपालिकाले २०८० साल पुस २३ गते बालविकास र विद्यालय कर्मचारीका लागि गरेको अतिरिक्त तलब–भत्ता सम्बन्धी सहमति पनि अहिलेसम्म कार्यान्वयन नभएको प्रति महासंघले आपत्ति जनाएको छ।
महासंघले आन्दोलनका प्रारम्भिक प्रचारात्मक कार्यक्रम सुरु भएको र अब सरकार संवेदनशील नभए थप कठोर संघर्षमा जानुपर्ने परिस्थितिमा सरकार आफैं जिम्मेवार हुने चेतावनी दिएको छ।










