
लालबन्दी, भदौ -९ गते, नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति, नेपाल किसान संघका पूर्व केन्द्रीय अध्यक्ष, प्रजातन्त्र सेनानी वासुदेवशरण कोइरालाको स्मृतिमा साेमवार बिहान नेपाली कांग्रेस लालबन्दी नगर समितिले श्रद्धान्जली सभा सम्पन्न गरेको छ।
नगर सभापति प्रशान्त आचार्यकाे सभापतित्वमा श्रद्धान्जली सभा सम्पन्न गरिएको नेपाली कांग्रेस लालबन्दी नगर समितिले जनाएको छ ।

श्रद्धान्जली सभामा महासमिति सदस्य ,महाधिवेशन प्रतिनिधि लालबन्दी नगरपालिका का प्रमुख /उपप्रमुख, नेपाली कांग्रेसका प्रदेश, जिल्ला र नगर स्तरका नेता कार्यकर्ताकाे सहभागिता रहेको थियो ।
यस्तै नेपाली कांग्रेस सर्लाहीले आगामी भदौ १२ गते श्रद्धान्जली सभा गर्ने भएको छ ।पार्टीका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यतामा श्रद्धान्जली सभा आयोजना गर्न लागिएको नेपाली कांग्रेस सर्लाहीका कार्यबाहक सभापति डाक्टर सराेज कुमारले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
उनका अनुसार भदौ १२ गते बिहिवारका दिन बिहान ११ बजेपछि जिल्ला कार्यसमितिको आयोजना तथा लालबन्दी नगर समितिकाे व्यवस्थापनमा श्रद्धान्जली सभा गरिनेछ ।

उक्त श्रद्धान्जली सभामा सकृय सहभागिता जनाउन सम्पूर्ण नेता कार्यकर्ता तथा आम सर्वसाधारणलाई नेपाली कांग्रेस सर्लाहीले आग्रह गरेको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, समाजसेवी तथा नेपाली कांग्रेसका वरिष्ठ नेता बासुदेव शरण कोइरालाको ९४ वर्षको उमेरमा लालबन्दी नगरपालिका–२, जुटपानीस्थित आफ्नै निवासमा निधन भएको थियो ।
२०१२ सालदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै २०१५ सालको निर्वाचन, २०१८ को सशस्त्र आन्दोलन, २०३०–३२ को सशस्त्र विद्रोह तथा २०४२ सालको सत्याग्रहमा समेत सहभागी भएका काेइरालाकाे योगदान राजनीतिक इतिहासमा अमिट छ।

काेइरालाले जुटपानीस्थित आफ्नै घर दान दिई त्यसमा पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवा आश्रम स्थापना गरी वृद्धवृद्धाहरूको सेवा गर्दै आएका थिए ।
उनको स्मृतिमा यस अघि नेपाली कांग्रेस क्षेत्र नं. १ ले पार्टीका पूर्व महामन्त्री डा. शशांक कोइरालाको प्रमुख आतिथ्यतामा श्रद्धान्जली सभा गरेको थियो ।










