सर्लाही ,साउन -२९,जिल्लाकाे चक्रघट्टा गाउँपालिका–५, पडरिया स्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
बिहिवार राति अन्दाजी ८:२० बजे चक्रघट्टाबाट पडरिया तर्फ गइरहेको BR 30A G5036 नम्बरको मोटरसाइकलले पैदल यात्री ६० वर्षीय बरन बैठा र २० वर्षीय दिपक मण्डललाई ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाइते भएका बरन बैठालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा उपचारका क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका दिपक मण्डलको बायाँ खुट्टा र अनुहारमा चोट लागेको छ भने अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
उक्त मोटरसाइकल चलाइरहेका २० वर्षीय हरे कृष्ण यादव पनि घाइते भएका छन्। उनको टाउको, हात र खुट्टामा चोट लागेपनि अवस्था सामान्य रहेको र उनको पनि मलंगवास्थित सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मोटरसाइकल नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









