
लालबन्दी, साउन- २१, सर्लाहीको लालबन्दी नगरपालिकामा डेंगु रोग नियन्त्रणका लागि विशेष “सर्च एण्ड डिस्ट्रोय” र जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।

लालबन्दी नगरपालिका आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजना तथा स्थानीय, स्वास्थ्यकर्मी तथा सामाजिक संस्थाहरूको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हाे ।

कार्यक्रममा डेंगुका सम्भावित बासस्थान पत्ता लगाई लार्भा नष्ट गर्ने कार्यसँगै स्थानीय नागरिकमा सचेतना अभिवृद्धि गर्ने कार्य गरिएको लालबन्दी नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राेशन चाैधरीले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा लायन्स क्लब अफ लालबन्दी सिटी, इलाका प्रहरी कार्यालय लालबन्दी, नगर प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका (FCHVs), नगर अस्पतालको टोली तथा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो ।

स्वास्थ्यकर्मी तथा कार्यक्रमका सहभागीहरूले घरघरमा गई डेंगु फैलन सक्ने स्थानहरू गाडीका टायर,पेय पदार्थका क्रेडमा कुलरमा लामो समय पनी जम्न नदिन आग्रह गर्दै लार्भा नष्ट गरेका थिए । स्वास्थ्यकर्मीहरूले स्थानीय नागरिकहरूलाई डेंगु रोगको पहिचान, लक्षण, रोकथाम र सावधानीका उपायहरूबारे जानकारी दिएका थिए।










