सुरज अधिकारी।

एसपी यादव/सर्लाही
साउन -२१, बाबु रामपुजन राय र आमा धर्मशिला कुमारी यादवको कोखबाट वि.सं. २०६४ साल चैत २१ गते काठमाडौंमा जन्मिएका सुरज अधिकारी आज सम्पूर्ण देशभरका विद्यार्थीहरूका लागि प्रेरणाका श्रोत बनेका छन् । सर्लाहीको ग्रामीण भेगबाट काठमाडौं पुगेका  सुरजले राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८२ साउन १९ गते प्रकाशित कक्षा १२ को नतिजामा विज्ञान संकायमा ३.९६ जिपिए ल्याउँदै देशभर टपर बन्ने गौरव हासिल गरेका छन् । उनकाे याे सफलता देशकै लागि गौरवकाे विषय बनेको छ ।
उनको निरन्तर मेहनत, लगनशीलता र अध्ययनप्रतिको निष्ठाले आज राष्ट्रभरका विद्यार्थी र अभिभावकहरूका लागि प्रेरणा बनेका छन् । विशेषगरी सर्लाहीजस्ता ग्रामीण भेगबाट काठमाडौं पुगेका  विद्यार्थीले देशमै टप गर्नुले शिक्षा क्षेत्रमै सकारात्मक सन्देश दिएको छ । शैक्षिक क्षेत्रमा राजधानी केन्द्रित मान्यतालाई तोड्दै सर्लाहीका सुरजले देशभरकै टप बनेर उदाहरण प्रस्तुत गरेका छन् ।


सुरज सर्लाही जिल्ला चक्रघट्टा गाउँपालिका- २ का स्थानीय भए पनि उनी ललितपुरको महालक्ष्मी नगरपालिका- ७ मा परिवारसँग बसोबास गर्दै आएका छन् । सुरजले कक्षा १२ सम्मको अध्ययन लिभरपूल इन्टरनेशनल कलेज, नयाँ बानेश्वरबाट गरेका हुन् । भने कक्षा १० (एसईई) उनले अक्सिडेन्टल पब्लिक स्कूल, अनामनगरबाट उत्तीर्ण गरेका थिए, जहाँ उनले ३.८५ जिपिए प्राप्त गरेका थिए ।
सुरजको यात्रा कुनै सजिलो थिएन । मध्यम वर्गीय पारिवारिक पृष्ठभूमिबाट आएका सुरजले बाल्यकालदेखि नै अनुशासन, नियमितता र मेहनतलाई आफ्नो दिनचर्याको हिस्सा बनाएका थिए । मोबाइल, सोशल मिडिया जस्ता कुराहरूबाट टाढा रहँदै उनले आफ्नो लक्ष्यमा केन्द्रित रहन सफल भए । हरेक सानो मौकालाई उनले सिकाइको अवसरका रूपमा लिए ।


सुरज भन्छन्, “मैले कहिल्यै प्रतिस्पर्धा अरूसँग होइन, आफैंसँग गरेँ । आजको म हिजोभन्दा राम्रो बन्न सक्छु भन्ने सोच नै मेरो लागि मूल प्रेरणा बन्यो । लक्ष्यमा अडिग रहेँ, परिणाम आज आफैंले बोल्दैछ ।”
सफलता जन्मदिँदैन, बनाइन्छ- भन्ने भनाइलाई चरितार्थ गर्दै सुरज अधिकारीले जुन कृति र क्षमता देखाए, त्यो सम्पूर्ण नेपाली युवाहरूका लागि पक्कै पनि एक उदाहरणीय प्रेरणा हो । प्रारम्भदेखि नै अध्ययनप्रति गहिरो रुचि राख्ने विलक्षण प्रतिभाका धनी सुरजले एसईईदेखि प्लस टु सम्म निरन्तर उत्कृष्टता कायम राख्दै अन्ततः राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को नतिजामा देशभरका विज्ञान संकायका सबै विद्यार्थीलाई पछि पार्दै टपर बन्न सफल भएका हुन् । सुरज आज सम्पूर्ण देशभरका लाखौं विद्यार्थीहरू माझ विलक्षण प्रतिभाका धनी विद्यार्थीका रूपमा परिचित भएका छन् ।


सुरजको सफलता सर्लाही जिल्लाको मात्र होइन, सम्पूर्ण मधेस र देशकै शैक्षिक क्षितिजमा उज्यालो बनेर चम्किएको छ ।
सुरज भविष्यमा चार्टर अकाउन्टेन्ट अध्ययन गर्न चाहन्छन् । उनले नेपालमै रहेर काम गर्न चाहेको बताउँदै समाज र देशका लागि केही गर्न चाहेको अभिव्यक्ति दिएका छन् ।
सुरजको सफलताले परिवार, कलेज, जिल्लावासी मात्र होइन, सम्पूर्ण देशलाई गौरवान्वित बनाएको छ । उनलाई विभिन्न संघ-संस्थाहरू, राजनीतिक, शैक्षिक र सामाजिक क्षेत्रका व्यक्तित्वहरूबाट बधाई तथा शुभकामना प्राप्त भइरहेका छन् । साथै उनको यस उपलब्धिमा सम्पूर्ण नेपाली समाज हर्षित छ । उनको भविष्य अझ उज्ज्वल रहोस् भन्ने शुभकामनासहित सर्लाहीबासीसहित सम्पूर्ण देशले यो सफलतालाई हर्षका साथ स्वागत गरेको छ ।