सर्लाही, साउन -१७ , पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुरे तथा भावर क्षेत्रको प्रभावकारी जल व्यवस्थापनमार्फत मधेशमा  देखिएको पिउने पानी र सिंचाइ संकट टार्न सकिने बताएका छन्।


सर्लाहीको लालबन्दी नगरपालिका–१५, परवानीपुरस्थित बोहोरेडाँडामा शनिवार  आयोजित मधेश प्रदेशस्तरीय पुष्पलाल स्मृति भवनको उद्घाटन कार्यक्रममा बोल्दै नेता नेपालले चुरे क्षेत्रमा वर्षाका पानीलाई रोक्ने र भण्डारण गर्ने रणनीति आवश्यक रहेको औंल्याए। उनले , वर्षाको पानी बगेर समुन्द्र सम्म पुग्न नदिन र यहाँको खानेपानी र सिँचाइ संकट समाधान गर्न  चुरे क्षेत्रमा पोखरी निर्माण र जल भण्डारणमार्फत ‘वार्टर रिचार्ज’ प्रणालीलाई कार्यान्वयन गर्न सकिने धारणा व्यक्त गरे ।


“ वर्षा हुँदा पानी सिधै बगेर समुन्द्र पुगिसकेको छ , त्यसलाई संरक्षण गर्न सकेको भए आजको सिँचाइ समस्या रहने थिएन,” उनले भने, “सरकारले यस्ता रणनीतिक कुरामा दीर्घकालीन सोचसहित योजना बनाउनु अपरिहार्य छ।”
पूर्व प्रधानमन्त्री नेपालले जलवायु परिवर्तनका कारण हिउँ पग्लनु र हिमतालहरू फुट्नुले खतराकाे संकेत गरेको बताउँदै, वातावरणीय सन्तुलन कायम गर्न आवश्यक रहेको बताए ।


उनले आफ्नो प्रधानमन्त्री कालमा अघि सारेको ‘राष्ट्रपति चुरे संरक्षण योजना’ स्मरण गर्दै  चुरे क्षेत्रमा जलस्रोत संरक्षणको आवश्यकता अझ बढेको उल्लेख गरे। त्यस्तै, सप्तकोशीको पानीलाई सिरहा, धनुषा, महोत्तरी हुँदै सर्लाहीको बागमती नदीमा ल्याउने योजना अघि बढ्न नसकेको बताए ।याे प्रक्रिया अघि बढाउदा भारतले आपत्ति प्रकट गरेको उनलेे स्मरण गरे ।
´अहिले सप्तकोशी नदीको जम्मा १५ प्रतिशत पानी मात्र सिँचाइ प्रयोजनमा प्रयोग भइरहेको छ। यदि यसलाई विस्तारित गरेर बागमतीसम्म पुर्‍याउन सकियो भने मधेशमा सिँचाइ अभावको अन्त्य सम्भव छ`। नेपालले भने ।
“सिँचाइको सुविधा पुगेको खण्डमा उत्पादन वृद्धि हुन्छ, किसानको आम्दानी बढ्छ, अनि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता पनि कम हुन्छ,” उनले भने।
कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले पुष्पलाल स्मृति भवनमा पुष्पलाल श्रेष्ठसँगै,वीपी ,गणेशमान र देशका अन्य अग्रज नेताहरू तथा  सहादत प्राप्त किसान आन्दोलनका सहीदहरूको शालिक राख्न प्रस्ताव पनि गरे।


कार्यक्रममा पुष्पलाल स्मृति प्रतिष्ठान सर्लाहीका अध्यक्ष उद्धव पाठकले स्वागत मन्तव्य राखेका थिए भने प्रदेशसभा सदस्य लुंगेलीले लालबन्दीको विकासका लागि स्मृति पार्कको महत्त्वपूर्ण योगदान हुने बताइन्। लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले यहाँका नागरिकले वर्षौं देखिको  उपयोग गर्दै आएको जमिनकाे धनीपुर्जा नपाएको भन्दै , यस विषयमा संघीय तहमा पहल गरिदिन पूर्वप्रधानमन्त्री नेपालसंग आग्रह गरे।
कार्यक्रममा  नेकपा माओवादीका नेता कृष्ण गौतम, नेकपा विप्लवका सर्लाही जिल्ला इन्चार्ज कमल सुसलिङलगायत वक्ताहरूले कम्युनिस्ट  एकता, सिँचाइ समस्या,पर्यटन प्रवर्द्धन  र  विकासको विषयमा धारणा राखेका थिए ।
शनिवार दिउँसो सर्लाही आइपुगेका  पूर्वप्रधानमन्त्री नेपालले  हरिपुर नगरपालिका–७, चिताइनमा निर्माण भएको पक्की छठघाटको पनि उनले उद्घाटन गरेका थिए ।  यी दुवै संरचना मधेश प्रदेशसभा सदस्य बेची लुंगेलीको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतको बजेटबाट निर्माण गरिएका हुन्।