सर्लाही , साउन- १४, जिल्लाको बागमती नगरपालिका–१२ स्थित भरत तालमा एक महिलाको शव फेला परेको छ।
बुधवार मध्यान्ह करिब १२ बजेकाे समयमा तालमा शव तैरिरहेको सूचना पाएसँगै ईलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी निरीक्षक सुभाष यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिइ डुङ्गाको सहायतामा शव तालबाट निकालेको प्रहरीले जनाएको छ।


शवको प्रारम्भिक विवरण अनुसार अन्दाजी २१/२२ वर्षकी तराई मूलकी जस्तो देखिने ती महिलाले निलो जिन्स पाइन्ट, हरियो कुर्ता लगाएकी छिन् । हातमा रातो बाला लगाएकी महिलाको हालसम्म पहिचान खुल्न सकेको छैन।


घटनाको सम्बन्धमा अनुसन्धान तथा मुचुल्का तयारका लागि ईप्रका हरिवनबाट प्रहरी निरीक्षक चन्द्र कान्त अधिकारीको कमाण्डमा अपराध अनुसन्धान अधिकृतसहितको टोली परिचालित गरिएको सर्लाही प्रहरीले जनाएको छ।


प्रहरीले घटनाको प्रकृति रहस्यमय भएकाले गम्भीर ढंगले अनुसन्धान अगाडि बढाएको जनाएको छ।