
सर्लाही, साउन- १२, संघीय सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेसंगै पर्सा गाउँपालिकाले खानेपानी र सिँचाइको समस्यालाई गम्भीरतासाथ लिँदै तत्काल समस्य समाधानका लागि निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष धिरेन्द्र राय (बिस्पत) को अध्यक्षतामा आइतवार बसेको कार्यपालिका बैठकले सर्वसाधारणले भोगिरहेको खानेपानी तथा सिँचाइ समस्यकाे समाधान गर्नका लागि आवश्यक तत्कालीन र दीर्घकालीन उपायहरू अघि बढाउने निर्णय गरेको हो।

बैठकमा सबै वडाध्यक्षहरूलाई आफ्नो-आफ्नो वडामा समस्या पहिचान गरी आवश्यक योजना तर्जुमा गरी तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको छ।

पर्सा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थिङका अनुसार, दीर्घकालीन समाधानका लागि संघीय र प्रदेश सरकारसँग समन्वय गर्दै बजेट तथा प्रविधिको व्यवस्था गर्ने बैंकले प्रतिबद्धता जनाएको छ। उनले भने, “समस्या टार्ने तात्कालिक योजना मात्र होइन, भविष्यमा यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन योजना निर्माणका लागि पनि गाउँपालिका गम्भीर छ।”

लगातारको खडेरीका कारण खेतमा सिँचाइ गर्न नसकिएको र दैनिक उपभोगका लागि समेत खानेपानीको हाहाकार भइरहेको अवस्थामा गाउँपालिकाको यो निर्णयले आफूहरूले केही राहत पाउने अपेक्षा गरेकाे पर्साका स्थानीयले बताएका छन् ।










