सर्लाही, साउन- १२, लायन्स क्लब अफ लालबन्दी सिटी र लालबन्दी उद्योग वाणिज्य संघको समन्वयमा, शिक्षाप्रेमी रवीन्द्र कार्कीका सुपुत्र सुवास कार्कीको पहिलो जन्मदिनको अवसरमा स्टेशनरी सामग्री वितरण गरिएको छ।


श्री माध्यमिक विद्यालय, लालबन्दी–१० चन्द्रपुरमा अध्ययनरत दलित, जेहेन्दार र आर्थिक रूपले कमजोर विद्यार्थीहरूलाई लक्षित गर्दै करिब १५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरिएको हो।


कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष उदय पाख्रिनले विद्यार्थीको शैक्षिक उन्नयनका लागि गरिएको यो सहयोगप्रति आभार प्रकट गर्दै, बालक सुवास कार्कीको जन्मदिनको शुभकामना व्यक्त गरे।


उक्त अवसरमा समाजसेवी सन्तोष दाहाल लायन्स क्लब र उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।


स्थानीय समाजसेवी, विद्यालय परिवार र अभिभावकहरूले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्।